News Portal

  • सवा ९ अर्बमा बन्ने सुपर बागमती जलविद्युत आयोजनामा भयो लगानी सम्झौता

    आर्थीकसंसार संवाददाता९ जेठ, २०८१
    २१३ पटक
    ९ जेठ, २०८१

    काठमाडौं । ललितपुर र मकवानपुर सीमाको बागमती नदीमा निर्माण हुने ‘सुपर बागमती जलविद्युत आयोजना’ का लागि लगानी सम्झौता भएको छ ।

    सुपर बागमती हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजना ४१.३१४ मेगावाट क्षमतायुक्त हो ।

    निर्माण कम्पनी र लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच बुधबार लगानी सम्झौता सम्पन्न भएको हो ।

    यो आयोजनाको कुल लागत ९ अर्ब २८ करोड रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने लगानीकर्ताहरूको भनाइ छ ।

    सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ मा जलविद्युत विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत उत्पादनको अनुमतिपत्र लिएर २०८० आसार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ ।

    कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकसन रहेका छन् ।

    उक्त परियोजना निमार्णका लागि बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक संस्थापकहरूको लगानी रहने छ ।

    उक्त परियोजनामा बैंकको कर्जा प्रतिबद्धता ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सह-अगुवा एभरेष्ट बैंकको २ अर्ब ५ करोड तथा सिटिजन्स बैंक इन्टरनेसनलको १ अर्ब रुपैयाँ लगानी रहेको छ ।

    उक्त आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

    प्रतिकृया दिनुहोस्