काठमाडौं । निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) बाट आइआरएन एप्लस (IRN A+) रेटिङ पाएको छ। हकप्रद शेयरमार्फत् चुक्ता पूँजी वृद्धिको तयारीमा रहेको नेको इन्स्योरेन्सलाई शेयर जारीकर्ता कम्पनीको रुपमा इन्फोमेरिक्स नेपालले यस्तो रेटिङ प्रदान गरेको हो ।
वित्तीय दायीत्वको समयमै पुरा गर्ने सम्बन्धमा यो रेटिङले पर्याप्त मात्रामा सुरक्षा भएको अवस्थालाई जनाउँछ । पुरानो इतिहास, बलियो शाखा सञ्जाल, लगातार व्यापार वृद्धि, स्थिर नाफा र बलियो तरलता स्थितिले यो कम्पनीको रेटिङमा सकारात्मक बल पुगेको छ। यसबाहेक इन्स्योरेन्समा सरकारी स्वामित्वको राष्ट्रि वाणिज्य बैंक(१५ प्रतिशत) र महतो समूह (१७.९प्रतिशत) संस्थागत शेयर लगानीले पनि रेटिङ मूल्याङ्कनलाई समर्थन गरेको छ।
नेको इन्स्योरेन्सले भविष्यमा अण्डरराइटिङमा गर्ने अभ्यास, बीमा कम्पनीहरूबीचको तीब्र प्रतिस्पर्धा र नियामकीय प्रावधानको परिवर्तनबाट कम्पनीको व्यवसायमा दबाब पार्न सक्नेछ।
नेको इस्योरेन्सको चुक्ता पूँजी हाल जम्मा २ अर्ब १ करोड रुपैयाँ रहेको छ। नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी पुरा गर्न थप ४९ करोड रुपैयाँ आवश्यक पर्नेछ । हकप्रद शेयरमार्फत् अपुग पूँजी जुटाउनका लागि कम्पनीले २४.३७ प्रतिशत हकप्रद शेयर जारी गर्नुपर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्मा २२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५.२० प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४७ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ८० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ६१ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले २ करोड ५७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय ३० रुपैयाँ १ पैसा रहेको छ ।