News Portal

  • नागरिक लगानी कोषको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    आर्थीकसंसार संवाददाता१३ पुष, २०८०
    १७७ पटक
    १३ पुष, २०८०

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्री गर्न लागेको छ । इन्स्योरेन्स कम्पनीले सीआईटीमा रहेको आफ्नो स्वामित्वको केही प्रतिशत सेयर बिक्री गर्न प्रक्रिया शुरु गरेको छ । लगानीलाई विविधि करण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित कम्पनीले सीआईटीको सेयर बिक्री गर्न लागेको हो ।

    इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार नागरिक लगानी कोषले हालसम्म वितरण गरेको बोनस सेयरलाई बिक्री गर्ने योजना बनाएको हो । सीआईटीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविक प्रिमियर इन्स्योरेन्स)को १.२४ प्रतिशत सेयर स्वामित्व छ ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीआईटीले वितरण गरेको बोनस सेयरसहित करिब ५ लाख कित्ता सेयर स्वामित्व रहेको छ । जसमध्ये करिब २ लाख कित्ता सेयर बिक्री गर्ने योजना कम्पनीले बनाएको स्रोतको भनाइ छ ।

    कम्पनीले सीआईटीको संस्थापक सेयर बेच्न लागेको हो । संस्थापक सेयर बजार मूल्यको झण्डै आधा मूल्यमा कारोबार हुने गरेको छ । विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सीआईटीको सेयर मूल्य प्रतिकित्ता २ हजार १९० रुपैयाँ किनबेच भएको छ । सो मूल्यका आधामा बिक्री गर्दा उक्त संस्थापक सेयर प्रतिकित्ता करिव ११ सय रुपैयाँमा कारोबार हुन सक्छ ।

    कम्पनीले बिक्री गर्न लागेको उक्त सेयर कम्पनीले मात्रै खरिद गर्न पाउँछ ।

    कम्पनीले सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । कम्पनीले सबै सेयर बिक्री गरेर सीआईटीबाट बाहिरिने योजना बनाएको थियो । तर, एकैपटक महँगो मूल्यमा सेयर बिक्री नहुने भएपछि किस्ता किस्तामा लिलामीमा बिक्री गर्ने योजना बनाएको हो ।

    नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट कम्पनीले सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ ।

    कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो ।

    साथै, प्रिमियम मूल्यमा एफपीओ र हकप्रद सेयर बिक्रीबाट भएको आम्दानीमा कर तिर्नु परेपछि कम्पनीले १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्