News Portal

  • लिबर्टी माइक्रो लाइफले औपचारिक रुपमा शुरु गर्यो कारोबार, ल्यायो दुई बीमा योजना

    आर्थीकसंसार संवाददाता६ पुष, २०८०
    १६२ पटक
    ६ पुष, २०८०

    काठमाडौं । लिबर्टी माइक्रो लाइफले आज अर्थात पुस ६ गतेबाट औपचारिक रुपमा कारोबार शुरु गरेको छ । गत असोज १९ गतेदेखि व्यवसाय सञ्चालन गर्न स्वीकृति पाएको कम्पनीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पोखरामा औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

    नेपाल सरकारको लघु जीवन बीमा कार्यक्रमलाई सफल पार्ने उद्देश्यले सञ्चालनमा आएको उक्त कम्पनी २०७९ पुस १७ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको थियो । र, बीमा प्राधिकरणबाट २०८० भदौ १ गतेका दिन लघु जीवन बीमा व्यवसायको इजाजत पत्र पाएको हो ।

    पोखरामा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले लघु जीवन बीमाको विस्तार गर्न, सबै वर्ग विशेषतः विपन्न तथा गरीब वर्गका व्यक्तिहरुलाई जीवन बीमाको दायरामा ल्याउन लघु जीवन बीमा कम्पनीको स्वीकृति दिएको बताए । साथै, उनले आम जनमानसमा कम्पनी दुर्गम जिल्ला तथा विपन्न वर्गहरुमा पुगि आफ्नो जीवन बीमाको सेवा पुर्याई कुनै जीवन बीमा दावी पर्दा कम्पनीले तत्कालै बीमा दावी दिई बीमाको विश्वास बढाउनेमा जोड दिए ।

    त्यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले मोबाइल एप्लिकेशनको प्रयोग गरी कम्पनीको डिजिटल बीमालेख जारी गरी लघु जीवन बीमाको विकासमा लघु जीवन बीमा कम्पनीहरुले राम्रो भूमिका खेल्नुपर्ने बताए । साथै, घुम्ती बीमा माध्यमको प्रयोग गरी सबै वर्गमाझ बीमाको सेवा सुविधा पुर्याउनुपर्नेमा उनले जोड दिए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले कम्पनीको अधिकृत पुँजी १ अर्ब, कम्पनीका प्रोमोटरहरुबाट ५२ करोड ५० लाख रुपैयाँ तथा कम्पनीले भविष्यमा निष्काशन गर्ने आईपीओ मार्फत २२ करोड ५० लाख रुपैयाँ गरि जम्मा ७५ करोड रुपैयाँ जारी पुँजी रहेको जानकारी दिए ।

    हाल कम्पनीले २ वटा बीमा योजना समृद्ध कवच म्यादी जीवन बीमा योजना तथा समृद्ध भविष्य सावधिक जीवन बीमा योजना ल्याएको छ । साथै, कम्पनीले आफ्नो बीमाको पहुँच बढाउन नयाँ अभिकर्ता उत्पादन तथा देशको विभिन्न ठाउँंमा आफ्नो प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उप-शाखा कार्यालय खोली लघुजीवन बीमाको सेवा दिने बताएको छ ।

    साथै, गण्डकी प्रदेशमा लघु जीवन बीमाको विकासमा तीव्रता ल्याउन यस प्रदेश अन्तर्गत रहेको महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडाहरुसँग आवश्यक समन्वय गरी अगाडि बढ्नेमा जोड दिए ।

    कम्पनीका अध्यक्ष निकोलस पाण्डेले बीमाको पहुँच आम जनमानसमा पुर्याउने प्रतिवद्धता, बीमालाई नाफा कमाउने उद्देश्यमा सीमित नभई सामाजिक उद्यमशीलतामा जोड दिने बताए । त्यस्तै, प्राधिकरणले निर्देश गरेको नियम कानूनको अधिनमा रहने गरी काम गर्ने समेत उनको प्रतिवद्धता छ ।

    प्रतिकृया दिनुहोस्