News Portal

  • नमुना प्रदेश बन्ने योजनामा बाग्मती प्रदेश, यस्ता छन् विकास योजनाहरु:

    ६५८ पटक

    श्याम कुमार बस्नेत
    कार्यवाहक उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोग, बाग्मती प्रदेश

    बाग्मती प्रदेश मुलुकको स्रोतसाधनको उपलब्धता र मानवीय संशाधनको हिसाबले सम्पन्न प्रदेश भएको बाग्मती प्रदेशका नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेतले बताउनुभएको छ । सेतोघर डट कम सँगको कुराकानीको क्रममा उहाँले बाग्मती प्रदेश संघीय नेपालको राजधानी प्रदेश समेत रहेको र आगामी दिनमा पारदर्शी रुपमा योजनावद्ध रुपमा अघी बढाउने समेत बताउनुभएको छ ।

    प्रदेश सरकार प्रति जनताहरुले खासै काम गर्न नसकेको आरोप लागिरहँदा बस्नेतले भर्खर मात्रै प्रदेश सरकारले ठोस आकार पाएको र अब विकासका योजनाहरु निकै नै तीव्र रुपमा अघी बढ्ने बताउँदै योजनावद्ध रुपमा विकास कार्यहरु अघी बढिसकेको समेत बताउनुभएको छ ।

    संघीयताको आवश्यकता बारे प्रष्ट पार्दै कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत भन्नुहुन्छ, ‘मुलुक संघीय संरचनामा गइसकेपछि नेपालका सबै स्थानीय तह र प्रदेशहरुले आफ्नोे विकास खाका आफैंले कोर्ने अवसर पाएका छन् । अहिले नेपालमा ३ तहका सरकारहरु छन् । संघीय सरकार निकै लामो इतिहास बोकेको केन्द्रीय सरकारकै परिवर्तित रुप हो । स्थानीय सरकारको संरचना पनि धेरै पहिले नै बनिसकेको हो । पछिल्लो व्यवस्था अनुसार नेपालमा प्रादेशिक सरकार थप भएको छ । यो नयाँ व्यवस्था हो । अहिले सम्म पनि यसको औचित्यता सम्बन्धमा प्रश्नहरु उठ्दै आएका छन् । अहिले पनि अधिकांश सर्वसाधारण मानिसहरुले नेपालमा प्रदेश सरकारको काम, कर्तव्य र यसको कार्य क्षेत्र बारे प्रश्न उठाइरहेका छन् । प्रदेश सरकारबाट सम्पादन हुने कामहरु प्रभावकारी हुन सकेनन् भन्ने गुनासो रहँदै आएको पाइन्छ । त्यस किसिमको चासो हुन स्वभाविक नै हो । यद्यपि उहाँहरुले यो पनि बुझ्नुपर्छ कि प्रदेश सरकारको इतिहास कति लामो छ ? यसबीचमा भएका कामहरु के–के छन् ? सबैलाई जानकारी नै छ ।’

    प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेत सँग बाग्मती प्रदेशका सम्भावना, आगामी योजना र विकासक्रम सम्बन्धमा कुराकानी गरेका थियौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

    प्रदेश सरकारको महत्वः

    प्रदेश सरकार नेपालको लागि बिल्कुलै नयाँ अभ्यास हो । शुरुमा यसको परिकल्पना मात्र गरिएको थियो । जनताबाट निर्वाचित प्रतिनिधिहरुले प्रदेश सरकारलाई कसरी यथार्य रुप दिन सकिन्छ भनेर निकै मेहनत गर्नुपर्यो । अहिले यसले एउटा आकार पाएको छ । काम, कर्तव्य र कार्यविधिहरु प्रष्ट भएका छन् । साथै प्रदेश सरकारले जिम्मेवार तवरले आफ्ना कामहरुलाई गति समेत दिइरहेको छ । यसका आफ्नै दायराहरु छन् । नेपालको समुचित र सन्तुलित विकासको लागि अबका दिनमा प्रादेशिक सरकारको भूमिका निकै महत्वपूर्ण समेत रहनेछ ।

    राजधानी शहर समेत रहेको बाग्मती प्रदेशः
    बाग्मती प्रदेश नेपालका ७ ओटै प्रदेश मध्ये सबैभन्दा बढी महत्वपूर्ण प्रदेश समेत हो । राजधानी प्रदेश समेत भएको कारण बाग्मती प्रदेशको भूमिका विशेष महत्वपूर्ण रहने गर्छ । यस प्रदेशले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्व समेत प्रवल रहने गर्छ ।
    अहिले सम्म पनि नेपालका सबैजसो महत्वपूर्ण सरकारी निकायहरु, कुटनीतिक नियोगहरु, दातृ निकायहरु, विश्वविद्यालय, ठूला अस्पताल लगायत सबै यही प्रदेशमा नै अवस्थित छन् । यसकारण यस प्रदेशले निकै ठूलो महत्व राख्ने गर्छ । बाग्मती प्रदेशले व्यवस्थित विकासको लागि अघि सारेका योजनाहरु नेपालका अन्य प्रदेशहरुको लागि निकै अनुकरणीय समेत हुने गर्दछन् । समग्र मुलुकको विकासलाई गति दिनको लागि यी प्रयाशहरु आगामी दिनको लागि निकै नै महत्वपूर्ण समेत हुनेछन् । सोहीकारण प्रदेश सरकार गठन पश्चात् बाग्मती प्रदेशले निकै सक्रियतापूर्वक आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

    स्रोतसाधन र संस्कृतिले सम्पन्न प्रदेशः
    बाग्मती प्रदेश आफैंमा पनि प्राकृतिक स्रोतसाधन, सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्व बोकेको प्रदेश समेत हो । नेपालका अधिकांश शिक्षित र क्षमतावान् जनशक्ति समेत यसै प्रदेशमा छन् । यस्तो महत्वपूर्ण प्रदेशका विकास योजनाहरुलाई अबका दिनमा कसरी अघी बढाउने भन्ने सम्बन्धमा नीति तथा योजना र ऐनहरु तयार गरिइसकिएको छ ।

    प्रदेश सरकारका अबका विकास प्राथमिकताहरुः
    हामीले यस प्रदेशको समग्र विकासको लागि मुख्यतः ६ ओटा पिलरहरु तयार गरी सोहीबमोजिम विकास योजना अघी बढाउँदैछौं । विकासका पूर्वाधारहरु तयार गर्ने, व्यवसायलाई आत्मनिर्भर बनाउने, कृषिको औद्योगिकीकरण गर्ने, साना र घरले उद्योगहरुको प्रवद्र्धन र व्यावसायीकरण गर्ने, कृषि क्षेत्रलाई व्यावसायिकरण र आत्मनिर्भर बनाउँदै लैजाने लगायतका कुराहरु प्रदेश सरकारको प्राथमिकतामा छन् ।

    यसको अलावा सामाजिक, आर्थिक विकास गर्ने सन्दर्भमा हामीले विशेष योजना सहित समाजमा रहेका विविध पक्षहरुलाई सम्बोधन गर्ने गरी कामहरु गर्नुपर्ने जरुरी समेत छ । जसबाट सुशासन र समृद्धिको आधार तयार हुन सकोस् । यसलाई गुणस्तरीय र प्रविधियुक्त बनाउँदै कानुनी राज्यको अनुभूत गराउने कार्य समेत निकै महत्वपूर्ण रहन्छ । सोही बमोजिम यस प्रदेशलाई अगाडि बढाउने कार्यमा हामी निरन्तर खटिइरहेका छौं ।

    औद्योगिकीकरणमा विशेष जोडः
    विनियोजित बजेटलाई उद्योग र उद्यमी विकासको लागि परिचालन गर्दै हाम्रा गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ । उद्योग अन्तरगत ठूला उद्योगलाई मात्र नभई साना, घरेलु र मझौला उद्योगलाई समेत प्रवद्र्धन गरी स्थानीयहरुको जीविकोपार्जन सुधार गर्न र उनीहरुको अवस्थालाई माथि उठाउनमा निकै महत्वपूर्ण सहयोग पुग्न सक्छ । यसको लागि प्रादेशिक सरकारले विशेष नीति अवलम्बन गर्नु जरुरी छ । यसरी विकासका पूर्वाधारहरुलाई अघी बढाउन सकेमात्र बाग्मती प्रदेश एउटा सुखी, समृद्ध र सन्तुलित प्रदेशको रुपमा विकास हुन सक्छ । समाजवाद उन्मुख प्रदेश बन्न सक्छ ।
    सोहीकारण अहिले बाग्मती प्रदेश दीर्घकालिन सोच सहित अघी बढिरहेको छ ।

    संघीय सरकारको लक्ष्य पूरा गर्न प्रतिवद्धः
    संघीय सरकारले लिएको लक्ष्य समृद्ध नेपाल निर्माणको लक्ष्य हो । उक्त लक्ष्य पूरा गर्न प्रदेश सरकारको भूमिका निकै नै महत्वपूर्ण हुने गर्छ । सोहीकारण बाग्मती प्रदेश मात्र नभई नेपालका सबै प्रदेश र स्थानीय सरकारहरुले त्यस किसिमको आफ्नो दायरामा रही आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नु जरुरी छ ।

    अबको आवश्यकताः
    गुणस्तर र प्रविधियुक्त विकास कार्य हाम्रा अबका आवश्यकताहरु हुन् । यसको लागि सुशासनयुक्त कानुनी राज्य स्थापना गर्नु पनि त्यत्ति नै महत्वपूर्ण हुने गर्छ ।

    कसरी हासिल गर्न सकिएला त यी लक्ष्यहरुः
    बाग्मती प्रदेशको महत्व नेपालका अन्य प्रदेशहरु भन्दा माथि छ । यसको आफैंमा विशेष गौरव छ । उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय संशाधन, हाम्रो सोच र ज्ञान, सीप एवं प्रविधिको संयोजनबाट मात्र हामीले चाहेको त्यो उपलब्धि हासिल गर्न सकिन्छ ।

    नेपाल आफैंमा तपोभूमी, योगभूमी र ज्ञानभूमि समेत हो । यस किसिमको विशेष महत्व बोकेको यस प्रदेशका यी विशेषताहरुलाई अबलम्बन गर्दै हाम्रो विकास कार्य अघी बढाउन सकेमात्र नेपाललाई हामीले छिट्टै समृद्ध बनाउन सक्छौं । विकासको गतिमा अघी बढाउन सकिन्छ । 

    समग्र नेपालको विकास गतिलाई चलायमान बनाई राज्यले लिएको ‘समृद्ध नेपाल ः सुख नेपाली’को योजनालाई सफल बनाउन हामी सोहीबमोजिम सामुहिक प्रतिवद्धता सहित अघी बढ्नु जरुरी छ । हाम्रो लक्ष्य समृद्ध नेपालको हो । यसको लागि हाम्रो देशका सबै प्रदेश, स्थानीय तह र संघीय सरकारले विशेष योजना सहित हाम्रा गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ ।

    अन्त्यमा,
    हामीले अबको ५ बर्ष भित्रमा यस प्रदेशलाई विशेष योजना सहित नमुना प्रदेश बनाउन विशेष योजना सहित कामहरु अघी बढाइसकेका छौं । हाम्रा योजनाहरुलाई साकार बनाउन सबै पक्षहरुको सहयोग आवश्यक रहन्छ । यसको लागि अब हामी दिगो विकास अवधारणा सहित हाम्रा विकास गतिविधिहरुलाई अघी बढाउनु जरुरी रहन्छ । बाग्मती प्रदेश सोहीबमोजिम विशेष नीति तथा योजना सहित पारदर्शी रुपमा आफ्ना योजनाहरु अघी बढाउने कार्यमा निरन्तर लागिरहेको छ । भ्रष्टाचारलाई न्यूनीकरण गर्दै शून्य सहनशिलता सहित पारदर्शी रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न यो प्रदेश विशेष प्रतिवद्ध छ ।

    www.setoghar.com मा प्रकाशित

    प्रतिकृया दिनुहोस्