काठमाडौं । बीमाशुल्क संकलनमा एभरेष्ट इन्स्योरेन्स पनि अर्ब क्लबमा प्रवेश भएको छ । चैत महिनामा करोडको क्लबमा रहेको इन्स्योरेन्स एक महिना भित्रमा अर्ब क्लबमा प्रवेश गर्न सफल भएको हो ।
इन्स्योरेन्सले गत बैशाख महिनामा १ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन गत महिनाको तुलनामा ११ करोड ४६ लाख रुपैयाँले बढी हो । एभरेष्टले चैत मसान्तसम्म ९२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यससँगै अर्ब क्लबमा हुने कम्पनीको संख्या बढेको छ । सञ्चालित २० कम्पनीहरुमध्ये तीन कम्पनीबाहेक सबै अर्थात १७ वटा बीमा कम्पनीहरुले एक अर्बभन्दा बढी प्रिमियम संकलन गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको १० महिनामा अर्बभन्दा बढी प्रिमियम संकलन गरेका हुन् ।
अब सानिमा, जनरल र नेशनल इन्स्योरेन्स मात्रै अर्ब क्लबमा भित्रिन बाँकी छ । बैशाखसम्ममा यी तीन कम्पनीले क्रमशः ८० करोड ९२ लाख, ७५ करोड ९८ लाख र ७४ करोड ५४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । शिखरले बैशाख मसान्तसम्म १ लाख ९७ हजार ५९९ वटा बीमा पोलिसी मार्फत ४ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।
त्यस्तै, दोश्रो स्थानमा रहेको सगरमाथाले २ अर्ब ५९ करोड, नेकोले २ अर्ब ४१ करोड र सिद्धार्थले २ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । बीमालेखको आधारमा भने नेको इन्स्योरेन्सले सबैभन्दा बढी बीमा पोलिसी बिक्री गरेको देखिन्छ । बीमा समितिको तथ्यांक अनुसार नेकोले समीक्षा अवधिमा २ लाख २९ हजार ६०५ वटा पोलिसी बिक्री गरेको छ ।
समितिका अनुसार समग्रमा निर्जीवन बीमा क्षेत्रले कूल ३१ अर्ब १९ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरको छ । सो क्षेत्रले चालु आवको १० महिना (असारदेखि बैशाखसम्म)मा कूल २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरी सो मात्राको प्रिमियम संकलन गरेका हुन् । जुन पछिल्लो महिनाको तुलनामा साढे २ अर्ब रुपैयाँ बढी हो । निर्जीवन बीमा कम्पनीले गत चैत मसान्तसम्म २८ अर्ब ७० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
कुनको कति ?