News Portal

  • ज्योति विकास बैंकद्वारा ट्राफिक लाईट हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२१ पुष, २०७८
    १०३९ पटक
    २१ पुष, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत काठमाडौं महानगरपालिका–१ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।
    बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का वडा सदस्य अशोककुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिक लाईटको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टलगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    ट्राफिक लाईट जडान तथा सञ्चालन भएसँगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापनन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ । ज्योति बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्