News Portal

  • सरकारद्वारा पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७७
    १५५० पटक
    ९ फागुन, २०७७

    काठमाडौं । सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । ती औद्योगिक क्षेत्रहरुको यसैसाता प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्दैछन् ।
    यसकै लागि प्रधानमन्त्री सोमबार सुदूरपश्चिम जाँदैछन् । पाँचमध्ये प्रधानमन्त्रीले दुईवटा, अर्थमन्त्री पौडेलले एउटा र उद्योगमन्त्री लेखराज भट्टले दुईवटा औद्योगिक क्षेत्रहरुको शिलान्यास गर्ने कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।
    फागुन १०, ११, १३, १४ र १६ गते औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।
    प्रधानमन्त्री ओलीले फागुन १० गते सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’ र फागुन १६ गते प्रदेश १ को झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रलाई समेटिएको ‘चीन–नेपाल औद्योगिक पार्कको शिलान्यास गर्नेछन् । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले फागुन ११ गते लुम्बिनी प्रदेशको बाँकेस्थित ‘नौबेस्ता औद्योगिक क्षेत्र’ र फागुन १४ वागमती प्रदेशको मकवानपुरस्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ को शिलान्यास गर्दैछन् ।
    त्यस्तै फागुन १३ गते अर्थमन्त्री पौडेलले लुम्विनी प्रदेशस्थित रुपन्देहीको ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । यी पाँचवटा औद्योगिक क्षेत्रहरु पाँच वर्षभित्र निर्माण सम्पन्न हुने औद्योगिक विकास लिमिटेडका अध्यक्ष बस्नेतले बताए ।
    ‘फागुनको १० गते देखि १६ गतेसम्म शिलान्यास हुन लागेका ४ प्रदेशका पाँच औद्योगिक क्षेत्र २५ अर्ब विदेशी लगानीमा पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । पाँचवटा औद्योगिक क्षेत्रमध्ये दुईवटा विदेशी लगानी र तीनवटा औद्योगिक क्षेत्रहरु २५ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न हुने लक्ष्य छ’, बस्नेतले भने ।
    पाँचवटा औद्योगिक क्षेत्रमध्ये प्रदेश नम्वर १ को झापास्थित ‘चीन–नेपाल औद्योगिक पार्क’ सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो भने सबैभन्दा सानो वागमती प्रदेशको ‘मयुरधाप औद्योगिक क्षेत्र’ रहेको छ ।
    कति लागत ?
    सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’
    ८ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको छ भने यसको क्षेत्रफल ४५० बिघा रहेको छ ।
    लुम्बिनी प्रदेशको बाँकेस्थित ‘नौबेस्ता औद्योगिक क्षेत्र’ ९ अर्ब स्वदेशी लगानीमा निर्माण हुँदैछ । यसको कुल ३ सय ३८ बिघा रहेको छ ।
    लुम्बिनी प्रदेशस्थित ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास दोस्रो ठूलो हो । उक्त औद्योगिक क्षेत्र १२ अर्ब विदेशी लगानीमा निर्माण गर्ने सरकारको योजना रहेको बस्नेतले बताए । यो औद्योगिक क्षेत्र करिव ९३५ बिघा क्षेत्रफलमा निर्माण गरिनेछ ।
    मकवानपुरस्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ सबैभन्दा सानो हो । २०० बिघा क्षेत्रफलमा रहने यस औद्योगिक क्षेत्र ८ अर्ब स्वदेशी लगानीमा सम्पन्न हुने सरकारको लक्ष्य रहेको छ ।
    झापाको ‘चीन–नेपाल औद्योगिक पार्क’
    प्रदेश नम्बर १ स्थित झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकालाई समेटेर ‘दमक–कमल–गौरादह औद्योगिक क्षेत्र’ फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । यी तीनवटै स्थानीय तह प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने महत्वपूर्ण क्षेत्रहरु हुन् । चीनको सहयोगमा निर्माण हुन लागेको यो औद्योगिक पार्क १४०० बिघा क्षेत्रफलमा निर्माण हुनेछ ।

    प्रतिकृया दिनुहोस्