काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।
घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबारसम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणालीमार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाह गर्नेलगायतका बैंकिङ्ग सेवासम्बन्धी जनचेतना जगाउने काम गरिएको थियो ।
यो कार्यक्रममार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोबार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जालगायतका बारेमा समेत विस्तृत रुपमा जानकारी गराइएको थियो ।
यस्तो कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका जनसमुदायलाई लक्षित गरी आयोजना गरिएको हो । उक्त कार्यक्रममा मुलुकभर फैलिएका बैंकका ९६ वटै शाखा कार्यालयहरुबाट गरिएको र अभियानमा बैंकका कर्मचारीहरुको समेत उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको बताइएको छ ।
कार्यक्रम निकै प्रभावकारी देखिएकाले यस्तो अभियानलाई निकट भविष्यमा पनि सञ्चालन गर्ने बैंकको योजना रहेको बैंकको भनाई छ ।
बैंकले सञ्चालन गरेको यस घरदैलो सेवा कार्यक्रमबाट बैंकका ग्राहकलगायत सर्वसाधारण पनि लाभान्वित भएको बैंकको विश्वास छ ।