News Portal

  • नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई कारवाही

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७८
    ११३० पटक
    ४ भदौ, २०७८

    काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई कारबाही गरेको छ ।
    ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको एक अर्ब ११ करोड २९ लाख ७६ हजार बढी रुपैयाँ तीन महिनाभित्र प्रयोगकर्तालाई उनीहरूको मोबाइल नम्बरमा फिर्ता गर्न निर्देशन दिएको हो ।
    एनसेलले गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरु उपभोक्ताहरुको मन्जुरी नलिई अटो रिन्यु हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरुसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरुले गुनासो गरेका थिए ।
    उक्त गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति समेत गठन गरेको थियो ।
    उक्त समितिले गरेको अध्ययनबाट गेमलफ्ट नामको भ्यालु सेवा अन्तर्गत तीन दिन रिन्यु र साप्ताहिक रिन्युका प्याकहरु २०७५ असोज १५ गतेदेखि २०७७ को जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो ।
    यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुने गरी ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ आर्जन गरेको छ ।
    २०७५ असोज १५ गतेको पत्रमार्फत सो कम्पनीबाट सञ्चालित भ्यासअन्तर्गतका सेवाहरु अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा बन्द गर्न निदेशन किन पालना नगरेको ? यसरी प्राधिकरणको निर्देशन पालना नगरेकाले दूरसञ्चार ऐन अनुसार किन कारबाही नगर्ने ? भनी मिति असार १७ गते स्पष्टिकरण सोधिएको थियो ।
    त्यसका साथै २०७७ जेठ १८ पश्चात अटो रिन्युको विवरण १५ दिनभित्र प्रस्तुत गर्न प्राधिकरणले निर्देशन दिएको छ । अटो रिन्यु उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरित रहेको भन्दै कानुन बमोजिम ५० हजार जरिवाना गर्ने निर्णयसमेत भएको छ ।
    दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत सोमबारको बोर्ड बैठकले नियामक निकायको निर्देशन अवज्ञा गर्दै अटो रिन्यु गरिरहेको भन्दै यस्तो निर्णय लिएको हो ।

    प्रतिकृया दिनुहोस्