News Portal

  • २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन : सांसद कार्की

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८३
    ३७ पटक
    २० भदौ, २०८३

    काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् ।

    काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृङ्खलामा परेको प्रभाव र देखिएको चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद कार्कीले नेपाल आयल निगमले गरेको सानो सहयोगको तुलनामा जनतामाथि लादिएको मूल्यवृद्धिको भार अत्याधिक रहेको बताएका हुन् ।

    सांसद कार्कीले बाढीपीडितका नाममा निगमले २५ लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको ग्यास सहयोग गरेको विषयलाई उल्लेख गर्दै सोही अवधिको मूल्यवृद्धिले काठमाडौं उपत्यकामा मात्रै करोडौँको आर्थिक भार थपिएको बताए। ग्यास हरेक वर्गका नागरिकका लागि अनिवार्य आवश्यकता भइसकेको उल्लेख गर्दै उनले यसको मूल्यवृद्धिले विपन्नदेखि मध्यम वर्गसम्मलाई प्रत्यक्ष असर पारेको बताए।

    सांसद कार्कीले भने, ‘ग्यासमा प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा वृद्धि हुँदा काठमाडौं उपत्यकामा मात्रै एक महिनामा ११ करोड ५९ लाख १८ हजार रुपैयाँको अतिरिक्त भार उपभोक्तामाथि परेको छ । २५ लाखको सहयोग गरेर जनताबाट साढे ११ करोडभन्दा बढी असुल्नु कस्तो नीति हो ? यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ । सामान्य चाउचाउ पकाउनेदेखि विभिन्न परिकार पकाउने सबैलाई ग्यास अपरिहार्य छ । यो हरेक मानिसको आधारभूत आवश्यकतासँग जोडिएको विषय हो । हामी केवल काठमाडौँको ५० लाख जनसंख्याको मात्र कुरा गरिरहेका छौँ । उपत्यका बाहिर बस्ने नागरिकहरू पनि मान्छे हुन् र उनीहरूलाई पनि उत्तिकै समस्या छ भन्ने कुरा बिर्सनु हुँदैन ।’

    सांसद कार्कीले सरकार र सरोकारवाला निकायहरूको ध्यान काठमाडौं उपत्यकामा मात्र केन्द्रित भएको भन्दै आलोचना समेत गरे । उपत्यका बाहिर बस्ने नागरिकहरूको समस्यालाई नजरअन्दाज गरिएको उनको तर्क छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास जस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा समग्र बजारमा महँगी बढ्ने र यसले आम नागरिकको जीवनस्तर कष्टकर बनाउने भन्दै उनले मूल्यवृद्धिको निर्णयमा पुनर्विचार गर्न माग गरे ।

    प्रतिकृया दिनुहोस्