News Portal

  • ज्योति बैंकले मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान

    आर्थीकसंसार संवाददाता२ माघ, २०७७
    ११५३ पटक
    २ माघ, २०७७

    काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पताललाई एक थान बेबी वार्मर प्रदान गरेको छ । जिल्ला अस्पतालको प्राङ्गणमा माघ २ गते शुक्रबार आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरेको हो ।
    बेबी वार्मरले नवजात शिशुको शारिरीक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ । कार्यक्रममा ज्योति बैंकका तर्फबाट गण्डकी प्रदेश र चितवन जिल्ला क्षेत्रका क्षेत्रीय प्रमुख विशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोक नारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजयबहादुर सिंहद्वारा संयुक्त रुपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासुराज पोखरेललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।
    नवजात शिशुको शारिरीक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट मध्यबिन्दु जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ३०० जना प्रत्यक्ष्यरुपमा लाभान्वित हुनेछन् साथै शिशु मृत्युदर न्यूनीकरण गर्न समेत योगदान पुग्ने छ । सोही कार्यक्रमको अवसरमा पीपीई र फेस शिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री पनि अस्पताललाई प्रदान गरिएको थियो ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ । बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख रुपैयाँ प्रदान गरेको थियो । हाल यस बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ४५ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब ५९ करोड रुपैयाँ लगानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्