News Portal

  • अभियान लघुवित्तको अध्यक्षमा बाबुराम थापा निर्वाचित

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ६४६ पटक
    २१ पौष, २०७७

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । पुस २० गते सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभाले अध्यक्ष पदमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
    संस्थाको वार्षिक साधारणसभा पुस २० गते काभ्रेपलाञ्चोकको पनौतीमा सम्पन्न भएको हो । सभाले अध्यक्षसहित ४ जना सञ्चालकलाई आगामी चार वर्षको लागि सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । साधारणसभा लगत्तै बसेको नवनिर्वाचित सञ्चालक समितिले निर्वाचित सञ्चालकहरुमध्येबाट बाबुराम थापालाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । नवनिर्वाचित सञ्चालक समितिअनुसार अध्यक्षमा बाबुराम थापा, सञ्चालकमा भोजराज भट्टराई, भारती पाठक र प्रविण झा रहेका छन् ।
    नवनिर्वाचित अध्यक्ष बाबुराम थापाले अभियान लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई उद्यमी बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराएर मात्र गरिबी न्युनीकरणको राष्ट्रिय अभियानमा टेवा पुग्ने बताएका छन् । अभियान लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित एक पब्लिक कम्पनी हो । यो संस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । जारी पुँजी २५ करोड रुपैयाँ रहेको यस संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।


    विपन्न वर्ग तथा ग्रामीण क्षेत्रमा दीगो र भरपर्दो वित्तीय सेवा पुर्याई देशको गरीबी न्युनीकरणमा योगदान दिने संस्थाको मुख्य लक्ष्य रहेकोे छ । संस्थाले छोटो अवधिमा नै देशभरका ६ वटा प्रदेश अन्तर्गत १९ जिल्लामा ३५ वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ । त्यस्तै, संस्थाले छोटो अवधिमा नेपालका दुर्गम ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी त्यहाँका मानिसहरुलाई वित्तीय सेवा प्रदान गर्ने, ग्रामीण क्षेत्रका मानिसहरुमा वित्तीय सचेतना, उद्यमशीलता र जीविकोपार्जनका लागि सीप प्रदान गर्ने, उच्च उत्साह र सीपयुक्त मानव श्रोतको साथ सुव्यवस्थित, प्राविधिक रुपमा सक्षम र दीगो संस्थाको विकास गर्ने र परिवारको महिला सदस्यको सहभागितामा पारिवारिक आय वृद्धिमा सघाउ पुर्याउन सफल भएको छ ।
    अभियान लघुवित्तले लघुवित्त विपन्न तथा ग्रामीण क्षेत्रमा सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले कर्जा दिएर मात्र हुँदैन, सीप र उद्यमशीलता विकास सम्बन्धि तालिम समेत प्रदान गर्नुपर्छ भन्ने मान्यता बोकेर सदस्यमाँझ वित्तीय द्रुतगतिमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्