News Portal

  • ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त

    आर्थिकसंसार संवाददाता३० साउन, २०७७
    ६२६ पटक
    ३० साउन, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक सञ्चालक समिति स्रोतले जानकारी दियो ।
    बज्राचार्यसँग वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकको व्यवस्थापन विदेशीले संहाल्दा सँगै काम गरेको अनुभव पनि छन् । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले २० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेका थिए ।
    राष्ट्र बैंकबाट नेपाल बैंक गएका बज्राचार्य नेपाल बैंकमा विदेशी व्यवस्थापनले सुधार गरेर व्यवस्थापन नेपालीलाई हस्तान्तरण गरेपछि उनी केही समय चार्टर्ड एकाउन्टेन्टको प्राक्टिसमा लागेका थिए । त्यसपछि उनी नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
    एनसीसी बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएपछि बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । तत्कालिन कमर्ज एण्ड ट्रष्ट बैंक र ग्लोबल आइएमई बैंक मर्ज हुने वित्तिकै ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत भएका बज्राचार्यले पोष्ट मर्जर व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेका थिए । ग्लोबल आइएमई बैंकको ४ वर्षे कार्यकाल पूरा भएपछि बज्राचार्य सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । सनराइज बैंकमा पनि ४ वर्षे कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए ।
    करिब २ वर्ष अघि तत्कालीन जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि परशुराम कुवँरले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेका थिए । कुवँरले पोष्ट मर्जरका व्यवस्थापकीय काम पूरा नगरी बाहिरिएका कारण सो बैंकमा पोष्ट मर्जरको व्यवस्थापकीय जिम्मेवारी पुनः बज्राचार्यको काँधमा आएको छ ।

    प्रतिकृया दिनुहोस्