News Portal

  • प्रभु लाइफको आइपिओमा साढे १० लाखको आवेदन

    आर्थीकसंसार संवाददाता२ पुस, २०७७
    २०७१ पटक
    २ पुस, २०७७

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा करिब साढे १० लाख जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ निष्काशनको अन्तिम दिन आज बिहीबार साढे ४ बजेसम्ममा १० लाख ४४ हजार आवेदकले कम्पनीको सेयरको लागि आवेदन दिएका हुन् ।
    गत मंसिर २९ गतेदेखि निष्काशन बिक्री खुला भएको उक्त आईपीओमा हालसम्म २ अर्ब ७७ करोड रुपैयाँ बराबर अर्थात २ करोड ७७ लाख कित्ता सेयरको लागि आवेदन परेको क्यापिटलले जानकारी गराएको छ । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ५.१२ गुणा बढी आवेदन हो । तर यो प्रारम्भिक तथ्याङ्क भएकाले अन्तिम तथ्याङ्कमा केही तलमाथि हुने क्यापिटलले जानकारी गराएको छ ।
    कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरी र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।
    उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समयअघि नै उक्त सेयरमा आवेदन दिनसक्ने व्यवस्था थियो । जसमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मको सेयरको लागि आवेदन दिन पाइने थियो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ । आईपीओपश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्