News Portal

  • मौद्रिक नीतिविरुद्ध निजी र सरकारी बैंक पनि राष्ट्र बैंकको विरुद्धमा

    आर्थीकसंसार संवाददाता३० मंसिर, २०७७
    १८६८ पटक
    ३० मंसिर, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाको विरुद्धमा बैंकहरु एक भएका छन् । राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयनमा बैंकहरुले मुद्दतीकै व्याज घटाएर राष्ट्र बैंकलाई चुनौति दिएका छन् ।
    यतिबेला कर्जाको माग कम रहेको तथा बजारमा अधिक तरलता भएकाले महँगो व्याजमा निक्षेप लिन नसकिने तर्क बैंकहरुको छ । मौद्रिक नीतिको नयाँ व्यवस्थाअनुसार निक्षेपको व्याज अन्तर ५ प्रतिशतको सीमामा राख्नको लागि अहिले मुद्दतीको व्याज घटाउनु एक मात्र विकल्प भएको बैंकहरुको भनाई छ ।
    नेपाल राष्ट्र बैंकले मंसिर १० गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा बैंकिङ क्षेत्रमा २ खर्ब रुपैयाँ अधिक तरलता थियो । अहिले अधिक तरलता सवा १ खर्ब रुपैयाँको हाराहारीमा छ । २० दिनको अवधिमा यसरी अधिक तरलता कम हुँदै गएको तथ्यांकले देखाए पनि बैंकहरु भने अझै पनि अधिक तरलताको कारण आफूहरु महँगो व्याजको पैसा लिन नसक्ने बताइरहेका छन् । केही महिना अघिसम्म मुद्दती निक्षेपको ९ प्रतिशतभन्दा माथि रहेको व्याज घटेर अहिले ७ प्रतिशतभन्दा कम भएको छ ।
    नेपाल इन्भेष्टमेन्ट बैंकले १ वर्षे मुद्दतीको व्याज ७.७५ प्रतिशत बनाएको छ । ५ वर्षभन्दा माथिको मुद्दतीको व्याज भने ९ प्रतिशत छ । उसले बचतमा २.२५ प्रतिशत व्याज दिने सूचना सार्वजनिक गरेको छ ।
    स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मुद्दतीको व्याज ६ प्रतिशत बनाएको छ भने बचतको व्याज साढे २ प्रतिशत कायम गरेको छ । एनएमबि बैंकले मुद्दतीको व्याज ८ प्रतिशत र बचतको व्याज ३ प्रतिशत बनाएको छ । एभरेष्ट बैंकले मुद्दतिमा ७ र बचतमा २ प्रतिशत व्याज दिने भनेको छ ।
    माछापुच्छ्रे बैंकले मुद्दतीमा ८.५ प्रतिशतसम्म र बचतको न्यूनतम व्याज साढे २ प्रतिशत बनाएको छ । मेगा बैंकले मुद्दतिको साढे ७ प्रतिशत र बचतमा साढे २ प्रतिशत व्याज दिने भनेको छ ।
    एनआइसी एसिया बैंकले मुद्दती निक्षेपको १० प्रतिशत हाराहारीको व्याज दर घटाएर साढे ६ प्रतिशतमा ल्याएको छ । उसले बचत निक्षेपमा डेढ प्रतिशत व्याज दिएको छ ।
    प्रभु बैंकले मुद्दतीमा ७.५ प्रतिशत र बचतमा २ प्रतिशत व्याज दिने भनेको छ । त्यसैगरी कुमारी बैंकले मुद्दतीमा ७.५ प्रतिशत र बचतमा २.५ प्रतिशत व्याज दिने भनेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मुद्दतीमा ८ प्रतिशत र बचतमा ३ प्रतिशत व्याज दिने निर्णय गरेको छ ।
    लक्ष्मी बैंकले १ वर्षे मुद्दतीमा ७ प्रतिशत र बचतमा २ प्रतिशत व्याज दिने भनेको छ । बैंक अफ काठमाण्डूले मुद्दतीमा ७ प्रतिशत र बचतमा २ प्रतिशत व्याज निर्धारण गरेको छ । नबिल बैंकले मुद्दतीमा ७ प्रतिशत र बचतमा १.५ प्रतिशत व्याज तोकेको छ । सिद्धार्थ बैंकले मुद्दतीमा ७.५ प्रतिशत र बचतमा २ व्याज दिने भनेको छ ।
    सेञ्चुरी बैंकले एक वर्षे मुद्दतीको व्याज साढे ७ प्रतिशत राखेको छ भने ३ वर्षभन्दा माथिएको मुद्दतीको व्याज ८ प्रतिशत बनाएको छ । बचतमा उसले साढे २ प्रतिशत बनाएको छ ।
    नेपाल एसबीआइ बैंकले मुद्दतिमा ६ प्रतिशत र बचतमा १ प्रतिशत व्याज दिने सार्वजनिक जानकारी गराएको छ । प्राइम कमर्सियल बैंकले भने मुद्दतिमा ८ प्रतिशत र बचतमा बढीमा ५ प्रतिशत व्याज दिने भनेको छ ।
    सानिमा बैंकले ५ वर्षे मुद्दतीमा १० प्रतिशत र १ वर्ष अवधिको मुद्दतीमा ७ प्रतिशत व्याज दिने भनेको छ । बचतको व्याज भने साढे २ प्रतिशत छ ।
    ग्लोबल आइएमइ बैंकले २ वर्ष माथिको मुद्दतिमा ८ प्रतिशत र १ वर्ष अवधिको मुद्दतीमा ७ प्रतिशत व्याज दिने भनेको छ । उसले बचतमा २ प्रतिशत व्याज दिन्छ । सनराइज बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दतीमा ९ प्रतिशत र १ वर्षे मुद्दतीको व्याज ७ प्रतिशत बनाएको छ । बचतमा भने सनराइजले २ प्रतिशत व्याज दिन्छ ।
    सरकारी लगानीसमेत रहेका बैंक पनि निजी क्षेत्रका बैंकको जस्तै गरी मुद्दती निक्षेपको व्याज घटाउन लागेका छन् । सरकारको लगानी पनि रहेको कृषि विकास बैंकले मुद्दतीमा ७.२५ प्रतिशत र बचतमा ३ प्रतिशत व्याज दिने सार्वजनिक जानकारी गराएको छ ।
    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुद्दतीमा ७ प्रतिशत र बचतमा २ प्रतिशत व्याज दिने निर्णय सार्वजनिक गरेको छ । सरकारको लगानी पनि रहेको नेपाल बैंकले पनि मुद्दतीमा ७ र बचतमा २ प्रतिशत व्याज व्याज दिने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्