News Portal

  • मिश्र र पाण्डेको उद्घोषः ‘हामीलाई मौका दिनुहोस्, हामी सुध्रियौं’

    साझा र विवेकशील पार्टीबीच एकताको घोषणा

    आर्थिकसंसार संवाददाता२४ मंसिर, २०७७
    १८३५ पटक
    २४ मंसिर, २०७७

    काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर साझा पार्टी र विवेकशील नेपाली दुई दलबीच पुनः एक भएको छ ।
    साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । ती साझा पार्टी र विवेकशील नेपाली ०७४ साउनमा साझा र विवेकशीलबीचको एकताबाट विवेकशील साझा जन्म भएको थियो । तर, एकीकरणको १७ महिनामै साझा र विवेकशीलले पुरानै बाटो रोजेका थिए । विभाजनको २३ महिनापछि फेरि एक भएका हुन् ।
    एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा’ प्रस्ताव गरिएको छ । विवेकशील साझाले विगत चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न नै कायम हुनेछ । कार्यालय पनि बखुन्डोलमै रहने छ । सामाखुसीस्थित विवेकशीलको कार्यालयलाई चाहिँ प्रदेशहरूको सम्पर्क कार्यालयमा रूपान्तरण गर्ने योजना छ ।
    नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन् । साझा पार्टीका संयोजक मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् । कार्यकारी अधिकार दुवैलाई हुनेछ । वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने प्रस्ताव गरिएको छ ।
    एकीकरणपछि दुवै पार्टीका ६५/६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३/१३ जना रही २६ जनाको हुने प्रस्ताव छ ।
    केन्द्रीय समिति बैठकको आह्वान र एजेन्डा तय भने अध्यक्ष र संयोजकको सहमतिमा गरिनेछ । एकीकृत पार्टीको केन्द्रीय समितिबाट अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाएर त्यसअनुसार काम अघि बढाउनेसमेत सहमतिको बुँदामा उल्लेख छ ।
    कार्यविधिअनुसार नै दुई महिनाभित्र दुवै पार्टी माहतका सबै संरचनालाई पुनर्गठन र समायोजन गर्ने भनिएको छ । यस्तै सम्झौतामा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने भनिएको छ ।
    अध्यक्ष मिश्रले आगामी दिनमा पार्टीलाई वैकल्पिक मात्र होइन निर्विकल्प पार्टी बनाउने दाबी गरे । देशको समृद्धि र सुशासनलाई प्रमुख मुद्दा बनाउने मिश्रको भनाइ छ । अबको राजनीति बादमा नअल्झिने भन्दै नेतृत्वमा जाने व्यक्ति भ्रष्ट भएसम्म कुनै पनि देशमा कुनै वादले काम नगर्ने मिश्रको भनाइ छ ।
    भारतको नयाँ दिल्लीमा आम आदमी पार्टी अवैकल्पिक पार्टीका रुपमा उदाएको चर्चा गर्दै मिश्रले सुशासन र समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाउने बताए । मिश्रले लोकतन्त्रलाई बलियोसँग संरक्षित गर्ने र त्यसका लागि प्रगतिशील लोकतन्त्र अभ्यास गर्न विवेकशील र साझा पार्टी जन्मिएको उनको भनाइ छ ।
    आफ्नो पार्टी राजा ल्याउन वा फाल्न, संघीयता ल्याउन वा फाल्न गठन नभएको मिश्रले प्रस्ट पारे । ‘हामी विफल भयौं भने देश सुध्रनेवाला छैन,’ उनले भने, ‘हामी सफल भयौं भने पुराना दललाई सुध्रन बाध्य पार्छौं । हामी विफल भएर कोही पनि हाँस्न पर्दैन ।’
    संयोजक पाण्डेले विकेशील साझा पार्टीलाई सबै समुदायले अपनत्व महसुस गर्ने पार्टी बनाउने बताए । पाण्डले भने, ‘युवा, महिला, मजदुरलगायतको पार्टी बनाउनेछौं । विदेशमा रहेका नेपालीहरुको हकहित संरक्षण गर्ने पार्टी बनाउनेछौ’ विगतमा जानेर वा नजानेर पार्टी विभाजन गरेको भन्दै केही समय अलगअलग रहेकोमा माफीसमेत मागे । ‘हिजोको दिनमा पार्टी विभाजन राजनीतिक दुर्घटना थियो, त्यो जानेर नजानेर भयो । हामी माफी माग्छौं, विगतमा हामीबाट त्रुटी भयो । हामीले यो गल्तीलाई महसुस गरेकै कारण एकता सम्भव भएको हो’, उनले भने ।

    प्रतिकृया दिनुहोस्