News Portal

  • सिटिजन्स डिजिटल महिना, प्रत्येक कारोबारमा ‘क्यासब्याक’

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८१
    १० पटक
    १३ असोज, २०८१

    काठमाडौं । कोरोना महामारीपछि डिजिटलाइजेशनले ठूलो फड्को मार्‍यो । विगतमा कुनै बैठक तथा छलफल गर्नुपर्‍यो भने भौतिक उपस्थिति अनिवार्य थियो । तर, पछिल्लो समय जुम, टिमलगायत विभिन्न अनलाइन माध्यमबाट सामूहिक छलफल हुँदै गरेका छन् । डिजिटल माध्यमको विकासले लागतसँगै समयको पनि बचत भएको छ । डिजिटलको भ्यालू दिनप्रतिदिन बढ्दै गएपछि बैंकहरू पनि यसतर्फ मोडिएका छन् ।

    पछिल्लो समय बैंकिङ क्षेत्रमा कुनै पनि काम गर्नुपर्दा डिजिटल माध्यमलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । बैंकको आन्तरिक प्रणालीमा भइरहने कागज प्रिन्टदेखि डकुमेन्टमा हस्ताक्षरका काम डिजिटलबाटै हुन थालेका छन् । जबकि विगतमा कुनै डकुमेन्टमा हस्ताक्षर गर्नुपर्‍याे भने शाखा कार्यालयबाट केन्द्रीय कार्यालयमा पुग्नपर्ने बाध्यता थियो । तर, त्यो झण्झटबाट मुक्त हुँदै शाखा कार्यालयबाटै आन्तरिक काम पनि भइरहेका छन् । जसको प्रभाव बैंकको लागत र समयमा परेको देखिन्छ ।

    साथै कुनै ऋणीलाई कर्जा चाहिएमा बैंकको शाखा कार्यालयमा जानुपर्ने अवस्था पनि निरन्तर कम भइरहेको छ । बैंकले कर्जा प्रवाह प्रक्रियामा ठूलो लगानी गरेर सफ्टवेयर सञ्चालनमा ल्याएको छ । कर्जासम्बन्धि सबै काम पनि डिजिटल माध्यमबाट हुने गरेको छ । ग्राहकलाई पनि डिजिटलमा रूपान्तरण गर्न बैंकले धेरै काम गरिरहेको छ । ग्राहकले बैंकमा नआई घरबाटै सेवा लिन सकिने गरी बैंकका प्रणाली डिजिटलाइजेशन भएका छन् ।

    ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न सिटिजन बैंकले असोज महिनामा बृहत्तर योजना ल्याएको छ ‘सिटिजन्स डिजिटल महिना अर्थात सिटिजन्स डिजिटल मन्थ’ । बैंकका डिपोजिट मार्केटिङ हेड पारस विक्रम थापाका अनुसार डिजिटल प्रमोनसनका लागि बैंकले लाखौं रुपैयाँ बजेट छुट्याएको छ ।

    ‘बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्ने मुख्य उद्देश्य हो, निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि अफर ल्याएका हौं,’ उनले भने ।

    खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य बैंकको रहेको थापाको भनाइ छ । उनका अनुसार १८ लाख खाता छन् । तर, सबै खातामा सक्रिय कारोबार भइरहेका छैन । त्यसैले डिजिटल कारोबारमा प्रोत्साहन गर्न डिजिटल मन्थ योजना ल्याएको उनले बताए । सिटिजन्स बैंकमा ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको उनले जानकारी दिए ।

    ‘यी योजना निरन्तर चलिरहन्छन् । तर, क्यासब्याकको सुविधा भने असोजमा मात्रै हो । यस्ता अफरहरू अन्य चाडपर्वको समयमा पनि ल्याउँछौं, लगत्तै तिहारमा पनि अन्य अफर आउन सक्छन्,’ थापाले भने ।

    डिजिटल लन्ज

    बैंकले केन्द्रीय कार्यालयमा स्मार्ट हब सञ्चालनमा ल्याएको छ । जसमा एटीएम मेसिन, क्यास डिपोपजट मेसिन र चेक डिपोजिट मेसिन सञ्चालनमा छन् । चेक डिपोजिट र क्यास डिपोजिट गर्न अब काउन्टरमा लाइन लागिरहनु पर्दैन । यी मेसिन २४औं घण्टा खुला रहन्छन् । जतिबेला ग्राहकलाई सहज हुन्छ त्यही बेला गएर चेक र क्यास डिपोजिट गर्न सकिन्छ । क्यास डिपोजिट भने ५ सय र १ हजार रुपैयाँका नोट मात्रै जम्मा गर्न सकिन्छ ।

    दशैं क्याम्पेन

    दशैंको समयमा अधिकांश मान्छे कर्मभूमि छाडेर जन्म घर जान्छन् ।  बैंकले दशैंमा मोबाइल बैंकिङ प्रयोग गरेर हवाईजहाजको टिकट काट्दा ४ सय रुपैयाँ फिर्ता दिने भएको छ । ‘दशैंको लहर, सिटिजन्ससँग घर जाने रहर’ नाराका साथ यो अफर ल्याएको हो । उक्त अफर असोज ६ गतेदेखि लागू भएर असोज १७ गतेसम्म कायम रहने थापाले बताए ।

    सिटिजन्स डिजिटल दक्षिणा

    विगतमा नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण गर्थ्याे । तर, यसपटक भने राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । त्यसैले बैंकले डिजिटल माध्यमबाटै दक्षिणा दिन प्रोत्साहित गर्न डिजिटल दक्षिणा योजना ल्याएको हो । मोबाइल बैंकबाट क्यूआर स्क्यान गरी दक्षिणा दिँदा १ सय रुपैयाँ फिर्ता पाउनेछन् । तर, दक्षिणा रकम भने न्यूनतम ५ सय रुपैयाँ हुनुपर्नेछ । जस्तो सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट ५ सय रुपैयाँ दक्षिणा दियो भने १ सय रुपैयाँ फिर्ता पाइनेछ । यो अफर टीकाको दिनदेखि सुरु भएर दशैं नसकिँदासम्म सञ्चालन रहने  मार्केटिङ हेड थापाकाे भनाइ छ ।

    मोबाइल बैंकिङ कारोबार

    दशैं नजिकै आइसकेको छ । अधिकांश मान्छे दशैंका लागि सपिङ पनि गरिरहेका छन् भने सपिङ गर्ने योजना पनि बनाइरहेका छन् । सपिङ गर्दा सिटिजन्स बैंकको मोबाइल बैंकिङबाट कारोबार गर्‍याे भने १० प्रतिशत अथवा १ सय रुपैयाँसम्म फिर्ता दिनेछ । ‘दशैंमा डिजिटल कारोबार, सिटिजन्स बैंकको क्यास ब्याकको बहार’ नारा रहेको यस योजनामा कसैलाई रकम पठाउनुपर्‍याे भने पनि क्यास ब्याक पाइनेछ । यो अफर असोज १ गतेदेखि असोज ३० गतेसम्म कायम लागू हुनेछ । मोबाइल बैंकिङ, फण्ड ट्रान्सफर र मोबाइल टपअप गर्दा यो लागू हुनेछ ।

    डिजिटल कार्ड

    यसपालीको दशैंमा बैंकले डिजिटल कार्ड प्रयोगकर्ताका लागि पनि स्किम ल्याएको छ । ‘चलाऊँ सिटिजन्स काड, पाऊँ क्यासब्याकको उपहार’ नारा रहेको यस स्किममा दशैं अवधिभर कार्ड प्रयोग गरेर कारोबार गर्दा बैंकले २ सय रुपैयाँ फिर्ता दिने डिपोजिट मार्केटिङ हेड थापाले बताए ।

    क्यूआर टेलर

    रकम झिक्न शाखा कार्यालयमा जाँदा चेक छुट्यो भने अब चिन्ता लिनुपर्दैन । किनभने बैंकको क्यूआर टेलरमा स्क्यान गरी नगद झिक्न सकिन्छ । जसरी मर्चेन्ट वा पसलमा गएर क्यूआर स्क्यान गरेर रकम माग्न सकिन्छ, त्यसैगरी बैंकको शाखा कार्यालयमा गएर नगद झिक्न सकिन्छ । क्यूआर टेलरबाट कारोबार पाऊँ उपहार नै उपहार नाराका नारा रहेको यस स्किम असोज ६ गतेदेखि असोज ११ गतेसम्म उपत्यकाभित्र लागू हुनेछ । साथै उपत्यका बाहिर भने असोज १३ गतेदेखि असोज १८ गतेसम्म लागू हुनेछ ।

    मोबाइल बैंकिङ सक्रिय

    कतिपय ग्राहकले मोबाइल बैंकिङको सुविधा लिएका छन् । तर, उनीहरू सक्रिय रूपमा कारोबार गर्दैनन् । उनीहरूका लागि बैंकले ‘पहिलो कारोबार सिटिजन्ससँग, ग्राहक सबै दंग’ स्किम ल्याएको छ । डिजिटलमा कारोबारमा प्रोत्साहित गर्न र निष्क्रिय रहेका ग्राहकलाई सक्रिय गराउन यो येजना ल्याएको हो । निष्क्रिय रहेका ग्राहकले पहिलो कारोबार गर्दा १० प्रतिशत अर्थात् १ सय रुपैयाँ छुटको व्यवस्था गरेको छ । यो स्किम असोज महिनाभरि लागू हुनेछ । साथै मोबाइल बैंकिङ नवीकरण गर्ने ग्राहकले १५० रुपैयाँसम्म छुट पाउने छन् ।

    डिजिटल रेमिट्यान्स

    मोबाइलबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने गरी पनि बैंकले रेमिट्यान्स अफर ल्याएको छ । यदि विदेशबाट रेमिट्यान्स पठाएको छ भने मोबाइल बैंकिङबाटै बैंक खातामा ल्याएमा १ सय रुपैयाँ फिर्ता गर्ने बैंकले जनाएको छ । ‘पाऊँ विदेशबाट पठाएको पैसा घर बसीबसी, सिटिजन्सले अझै पैसा थप्दा झन् खुसी’ नाराका साथ यो स्किम असोजभरि लागू हुनेछ ।

    स्मार्ट बचत

    बैंकको स्मार्ट बचत खाता खोल्दा कागज चाहिँदैन । चेकबुकलगायत अन्य कुनै पनि किसिमका प्रिन्टिङ पेपर पनि बैंकले दिँदैन । यो खाता खोल्दा मोबाइल, इन्टरनेट बैंकिङ र कार्डमा पहिलो वर्ष नि:शुल्क हुनेछ । दोस्रो वर्षदेखि ५० प्रतिशत कम हुनेछ । बैंकले यस योजनालाई ग्रनी प्रडक्टमा रूपमा अघि सारेको छ । यस खाताका ग्राहकहरूको नाममा बैंकले वृक्षारोपण पनि गरिसकेको छ । असोजमा स्मार्ट बचत खाता खोल्नेहरूलाई बैंकले १ सय रुपैयाँ फिर्ता दिनेछ भने लक्की ड्र विजेतालाई पुरस्कारको व्यवस्था रहेको छ । जसमा प्रत्येक प्रदेशबाट २/२ जनालाई अवसर रहेको छ ।

    बैंकले यी अफरका साथै अन्य विभिन्न स्किम पनि ल्याएको छ । भर्चुअल क्रेडिट कार्डमा पनि क्यासब्याकको सुविधा रहेको छ । ग्राहकसँगै बैंकले कर्मचारीलाई पनि प्रोत्साहित गर्न अफरको व्यवस्था गरेको छ । डिजिटलमा राम्रो गर्ने शाखालाई बैंकले रिवार्डको व्यवस्था गरेको बैंकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्