News Portal

  • बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    १४४७ पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख जगतनाथ उपाध्यायले बताए ।
    ‘स्थानीयस्तरका मूल्य तथा मान्यता, कला एवम् संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरी कार्यान्वयनमा ल्याइएको हो’, प्रमुख उपाध्यायले भने । गत वैशाखदेखि पढाइ सुरु गर्ने उद्देश्यले निर्माण गरिएको पाठ्यक्रम कोभिड–१९ र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको बताउनु भएको छ । अहिले नगरपालिकाले सञ्चालन गरेको विभिन्न माध्यममार्फत पठनपाठन अघि बढाइएको बताइएको छ ।
    नगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा अध्ययन तथा अध्यापन सुरु गरेको बताइएको छ । पुस्तकको नाम कक्षा १ देखि ३ सम्म ‘मेरो बूढानीलकण्ठ’ र ४ देखि ८ सम्म ‘हाम्रो बूढानीलकण्ठ’ रहेको छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय समाज, इतिहास, भूगोल, मठमन्दिर, पेशाव्यवसाय, प्रचलित जात्रा, सामाजिक रुपान्तरण आदि विषय समेटिएको छ । विद्यालयका शिक्षक, विज्ञ र जनप्रतिनिधिबीच सहमति भई पाठ्यक्रम तयार गरिएको बूढानीलकण्ठ नगरपालिकाले जनाएको छ । नगरपालिकामा १ सय ११ संस्थागत र १९ सामुदायिक विद्यालय रहेका छन् ।

    प्रतिकृया दिनुहोस्