News Portal

  • ज्योति बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

    आर्थिकसंसार संवाददाता२६ साउन, २०७७
    ५३२ पटक
    २६ साउन, २०७७

    काठमाडौं । ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक कार्य गर्नको लागि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको विकास प्रबद्र्धन कोषमार्फत केन्द्रसँग सम्झौता गरेको हो ।
    राष्ट्रिय आविष्कार केन्द्र महाविर पुनद्वारा प्रवद्र्धित संस्था हो । आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ वेवी वार्मरसम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरेबमोजिम दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरेका हुन् ।
    बैंकले १० वटा ‘न्यानो नानी’ वेवी वार्मर बनाउनको लागि आवश्यक आठ लाख केन्द्रलाई प्रदान गर्नेछ भने ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको वेवी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो ।
    नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्