News Portal

  • राष्ट्रिय वाणिज्य बैंक : सर्वसाधारणको सारथी, सरकारको सहयात्री

    आर्थीकसंसार संवाददाता१० माघ, २०८०
    ८३ पटक
    १० माघ, २०८०

    काठमाडौं । सर्वसाधारण जनताको वित्तीय सेवामा पहुँच अभिवृद्धि गरी राष्ट्रिय पूँजी निर्माण तथा देशको आर्थिक समुन्नतिका लागि सोको प्रभावकारी लगानी गर्न वि.सं. २०२२ माघ १० गते सरकारको पूर्ण स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भई नेपालको वर्तमान बैंकिङ प्रणालीको एक अगुवा बैंकका रूपमा सञ्चालनमा रहेको छ । साविक राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत स्थापना भई बैंक सम्बन्धी कानुनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैंक ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार वि.सं. २०६३ वैशाख ६ गते पव्लिक कम्पनीका रूपमा स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाका रूपमा बैंकिङ कारोबार गर्दै आएको छ ।

    करिब ६ दशक लामो इतिहासमा विभिन्न आरोह अवरोहको सामना गरी अघि बढिरहेको अवस्थामा वि.सं.२०५८ सालदेखि नेपाल सरकारबाट विश्व बैंकको वित्तीय सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विदेशी तथा स्वदेशी विज्ञ सम्मिलित समूहलाई बैंक व्यवस्थापनको जिम्मेवारी दिई बृहत्तर पुनर्संरचना कार्यक्रम लागू गरिए पश्चात् यस बैंकका कार्य सम्पादनका प्रमुख परिसुचकहरूमा उल्लेख्य सुधार हुन गई हाल स्वदेशी व्यवस्थापनबाट नै नेपालको बैंकिङ क्षेत्रमा प्रतिस्पर्धी बैंकका रूपमा क्रियाशील रहँदै आएको छ ।

    नेपाल सरकारको स्वामित्व भन्नु नै नेपाली जनताको स्वामित्व हो भन्ने अवधारणाका आधारमा ‘तपाईको आफ्नै बैंक’ भन्ने नारा सहित नेपालीलाई सरल, सुलभ, विश्वसनीय एवं प्रविधियुक्त वित्तीय सेवा प्रवाह गर्ने अठोट पूरा गर्न बैंकले पञ्चवर्षीय रणनीतिक योजना २०२०/२०२५ तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ । बैंकले आफ्ना क्रियाकलापलाई सुस्पष्ट दिशानिर्देश गर्न निम्नानुसारका दूरदृष्टि, ध्येय तथा मूल्यमान्यतालाई अनुसरण गर्दै आएको छ ।

    द्रष्टि : राष्ट्रको समृद्धिमा सदैव योगदान गर्ने, सबैका लागि सबैभन्दा विश्वसनीय बैंक ।

    ध्येय : ‘हामी वित्तीय पहुँचमा रहेका व्यवधान हटाई बृहत् दक्ष सेवा सञ्जाल, सामाजिक रूपमा उत्तरदायी व्यावसायिक प्रक्रिया र समानुभूतियुक्त जनशक्ति मार्फत सुरक्षित, नवीनतम एवं सुलभ वित्तीय सेवाहरूको सुनिश्चितता गरी सम्पूर्ण नेपालीको जीवन स्तर अभिवृद्धि गर्न सदैव प्रयत्नरत छौं ।’

    मूलभूत मान्यता :

    जनता तथा उनीहरुको समुदायप्रति सम्मान,

    सम्पूर्ण व्यावसायिक प्रक्रियाहरूमा प्रभावकारिता र दक्षता,

    सबै प्रकारका स्रोतहरूको उच्चतम उपयोग,

    उत्तरदायी र जवाफदेही सेवा प्रवाह,

    हरेक कार्यहरूमा इमानदारिता,

    निष्ठा र विश्वसनीयता,

    सबलता उन्मुख सरकारी बैंक

    २०८० आषाढ मसान्तमा बैंकको अधिकृत सेयर पूँजी ३० अर्ब रुपैयाँ, जारी र चुक्ता सेयर पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रुपैयाँ रहेको छ। बैंकको विद्यमान पूँजी संरचना अनुसार नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । व्यवसाय विस्तारको परिणाम स्वरूप हासिल गरिएको मुनाफाको बाँडफाँट तथा सम्पत्तिको पुनर्मूल्याङ्कनबाट कोषहरूको वृद्धिसँगै २०८० आषाढ मसान्तमा बैंकको पूँजी कोष ५० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

    जनविश्वासको धरोहर

    निक्षेपको आयतन नै बैंक उपर निक्षेपकताले गरेको विश्वासको प्रतिविम्ब हो । बैंकले सर्वसाधारण तथा संस्थागत गरी करिव ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताहरूबाट आर्थिक वर्ष २०८०/८१ को पौष मसान्तसम्ममा ३ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । बैंकले राज्य संरचनाको तल्लो तहसम्म आफ्नो वित्तीय सेवा विस्तार गर्दै तीन तहका सरकारका प्राथमिकतालाई सहयोग पुर्याउने गरी विशेष निक्षेप योजनाका साथ समाजका हरेक वर्गका सर्वसाधारण तथा उद्यमी व्यवसायीसम्म वित्तीय सेवा पुर्याउने हेतु विभिन्न वर्ग, पेसा, व्यवसाय, लिङ्ग आदि लक्षित आकर्षक र नवीनतम निक्षेप योजनाहरू सञ्चालन गरी राष्ट्रव्यापी शाखा सञ्जाल मार्फत भौतिक एवं अत्याधुनिक डिजिटल प्रविधि मार्फत अनलाइन खाता खोली कारोबार गर्ने सुविधा सहित निक्षेप परिचालन गर्दै आइरहेको छ ।

    कर्जा प्रवाहमा विविधीकरण तथा क्षेत्रगत सन्तुलन

    नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न महिला उद्यमशील कर्जा, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा लगायतका विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा तथा आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि अर्थतन्त्रका सबै पक्षलाई समेट्ने गरी व्यावसायिक/परियोजना कर्जा तथा उपभोक्ता कर्जा योजनाहरू मार्फत २०८० पौष मसान्तसम्ममा १ लाख ९४ हजारभन्दा बढी ग्राहकलाई २ खर्ब ५६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस बैंकले चालू आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवद्र्धन गर्न क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा कार्यक्रम लागू गर्न सुरु गरेको छ । बैंकको निष्क्रिय कर्जा विगत वर्षहरूदेखि क्रमिक रूपमा घट्दै गइरहेकोमा हाल बैंकिङ प्रणालीमा नै निष्क्रिय कर्जाको अनुपात वृद्धि भइरहेको अवस्थामा २०८० आषाढ मसान्तमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.७७ प्रतिशत बिन्दुमा रहेको छ ।

    निरन्तर मुनाफा र सेयरधनीलाई प्रतिफल

    बैंकको सञ्चालनगत एवं व्यवस्थापकीय कार्यदक्षतालाई वार्षिक रूपमा आर्जन हुने मुनाफाले प्रतिविम्बित गर्दछ । वित्तीय सुधार कार्यक्रम लागू भए पश्चात् आर्थिक वर्ष २०६०/६१ देखि नै निरन्तर मुनाफा आर्जन गर्न बैंक सफल रहेको छ । मुनाफा आर्जनलाई निरन्तरता दिँदै गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

    बैंक ले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्व २९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी मुनाफाका आधारमा सम्पूर्ण वाणिज्य बैंकहरूमध्ये दोस्रो र आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ४२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी तेस्रो स्थानमा रहेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ४ अर्ब ३८ करोड रुपैयाँ र आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंक बन्न सफल भएको थियो ।

    आर्जित मुनाफाबाट आर्थिक वर्ष २०७९/८० मा ५.५० प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०७८/७९ मा १२.५० प्रतिशत (५ बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश), आर्थिक वर्ष २०७७/७८ मा ३३ प्रतिशत (३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश), आर्थिक वर्ष २०७६/७७ मा ४.५० प्रतिशत (२ प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश) र आर्थिक वर्ष २०७५/७६ मा १२ प्रतिशत नगद लाभांश वितरण गर्दै सेयरधनीलाई समेत निरन्तर प्रतिफल दिन सफल भएको छ ।

    सरकारी कारोबारमा नेपाल सरकारको प्रमुख सहयात्री

    सङ्घीय सरकारका कुल ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ वटा, ७५३ मध्ये १२८ वटा स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार यसै बैंक मार्फत हुने गरेको छ । यस्तै बैंकले राजस्व सङ्कलन गर्ने प्रयोजनका लागि समेत शाखा तथा विस्तारित काउन्टरका साथै अन्य सबै शाखा सञ्जाल मार्फत नेपाल सरकारको राजस्व सङ्कलन कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । समग्रमा नेपालको कुल सरकारी कारोबारको आधाभन्दा बढी हिस्सा यसै बैंक मार्फत हुँदै आएको छ ।

    नेपाल सरकारका निजामती, सेना, प्रहरी, शिक्षक लगायतका सेवाबाट निवृत्त १ लाख ६० हजारभन्दा बढी व्यक्तिहरूको निवृत्तिभरण भुक्तानी गर्ने यस बैंकको निवृत्तिभरण भुक्तानीमा ६० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । समयानुकूल प्रविधिमैत्री प्रणाली मार्फत कारोबार गर्दै जाने नेपाल सरकारको योजनामा समेत हातेमालो गर्दै बैंकले आफ्नो बैंकिङ प्रणालीलाई सोही अनुरूप परिमार्जन गर्दै लगेको छ । साथै नेपाल सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको भुक्तानी सम्बन्धी अधिकांश कारोबार यसै बैंक मार्फत हुने गरेको छ ।

    सरकारी राजस्वमा योगदान

    बैंकले आर्जन गरेको नाफाबाट प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई आयकर भुक्तानी गर्नुका साथै व्याज कर तथा स्रोतमा कर कट्टी लगायतका कार्य गरी सरकारको राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्दै आएको छ । आयकर बापत नेपाल सरकारलाई गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १८ करोड रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ दाखिला गरेको छ भने आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्था मध्येमा सबैभन्दा बढी आयकर दाखिला गरे बापत आठौँ राष्ट्रिय कर दिवस २०७६ को अवसरमा नेपाल सरकारबाट सम्मान समेत प्राप्त गरेको छ ।

    राष्ट्रव्यापी शाखा सञ्जाल

    बैंकको शाखा सञ्जाल सात प्रदेशका ७७ वटै जिल्ला सदरमुकाम सहित ७७ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ शाखारहित बैंकिङ एकाइ मार्फत आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । सङ्घीय संरचना अनुरूप सातै प्रदेशमा प्रादेशिक कार्यालयहरू मार्फत ग्राहक सेवालाई छिटो र प्रभावकारी बनाइएको छ । व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीति अनुरूप चालू आर्थिक वर्ष सम्ममा शाखा सङ्ख्या ३२० पुर्याउने लक्ष्य रहेको छ । ग्राहक, विभिन्न तहका सरकार, नियामक निकाय तथा सर्वसाधारणको सहयोग तथा भरोसाका कारण यो बैंक ठूलो शाखा सञ्जाल सहित अग्रणी वाणिज्य बैंकका रूपमा सञ्चालित छ ।

    रोजगारी सिर्जनामा योगदान

    स्थापना कालदेखि नै बैंकका लागि आवश्यक जनशक्ति परिपूर्ति गर्दा ठूलो सङ्ख्यामा प्रत्यक्ष रोजगारी सिर्जना गर्दै आएको छ । बैंकले प्रवाह गरेको कर्जा मार्फत राष्ट्रिय उत्पादनको वृद्धि तथा बढ्दो आर्थिक गतिविधिको परिणाम स्वरूप अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना हुन गई गरिबी निवारणमा समेत सकारात्मक योगदान गरेको छ । बैंकले लघु, साना, कृषि तथा सहुलियतपूर्ण कर्जा लगानी मार्फत ऋणी तथा निजका परिवारलाई स्वरोजगार बनाउँदै लगेको छ । चालू आर्थिक वर्षको कार्यक्रममा स्थानीय सीपको प्रयोग मार्फत ग्रामीण अर्थतन्त्रको विकास, रोजगारी सिर्जना तथा स्थानीय नागरिकको जीवनस्तर सुधारका लागि ‘ग्रामीण जीवनमा सुधार, एसएमई कर्जाको विस्तार’ कार्यक्रम तय गरी कार्य प्रारम्भ समेत गरिसकेको छ ।

    कारोबार प्रणालीमा प्रविधिको निरन्तर स्तरोन्नति

    बैंकले स्थापनाको सुरुवातदेखि लामो समयसम्म हस्तलिखित खाता प्रणालीबाट कारोबारको हिसाबकिताब राख्दै आएकोमा वि.सं. २०६० सालदेखि आरबिबि एसवाइएसबाट कारोबारलाई कम्प्युटर प्रणालीबाट अटोमेसन गर्ने कार्य सुरु गरेको र हालको कारोबार प्रणालीलाई समेत समयसापेक्ष सुधार गर्न आइटी इनह्यान्समेन्ट रोडम्याप तयार गरी सोको कार्यान्वयन मार्फत कारोबार प्रणालीको स्तर वृद्धि गर्ने चरणमा रहेको छ ।

    प्रविधिमा आधारित एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड, एनि ब्रान्च बैंकिङ्ग सर्भिस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ब्रान्चलेस बैंकिङ, प्वाइन्ट अफ सेल्स, क्वीक रेस्पोन्स (क्यूआर कोड) लगायतका अत्याधुनिक वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिई मौजुदा प्राविधिक पूर्वाधारको स्तरोन्नतिका लागि बैंकले योजनाबद्ध रूपमा लगानी वृद्धि गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८०मा नेपालका बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल कारोबार गरे बापत नेपाल क्लियरिङ हाउसबाट यसै वर्ष हायस्ट डिजिटल ट्रान्जेक्सन अवार्ड समेत प्राप्त गरेको छ ।

    प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्व वहन

    बैंकले समाज प्रतिको बृहत्तर उत्तरदायित्व निर्वाह गर्ने क्रममा दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, देशको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा वातावरण संवद्र्धन तथा संरक्षण, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिक स्तर वृद्धिका लागि विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण, रक्तदान कार्यक्रम, सामाजिक संस्थारपार्क व्यवस्थापन कार्यमा सहकार्य, स्थानीय निकाय, क्लब तथा सामाजिक संस्थाहरू सँगको सहकार्यमा अन्य सामाजिक कार्यमा उल्लेखनीय आर्थिक सहयोग पुर्याउँदै आएको छ । हालसालै जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पका पीडितलाई समेत बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ रकम सहयोग गरेको छ ।

    भावी कार्य योजना

    वित्तीय बजारमा प्रतिस्पर्धी रहिरहन बैंकले पूँजी आधार तथा व्यावसायिक क्षमता विस्तार, बैंकिङ सेवाको गुणस्तरमा वृद्धि, आवश्यक नीति नियमको तर्जुमा, सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष सुदृढीकरण, बैंकिङ तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, डिजिटल तथा भौतिक माध्यम मार्फत वित्तीय सेवा पहुँचमा विस्तार, सरल तथा समयसापेक्ष कार्यप्रक्रिया निर्माण, कर्मचारीको कार्यदक्षता अभिवृद्धि, रेमिट्यान्स कारोबारमा बैंकको हिस्सा वृद्धि, नेपाल सरकार तथा नियामक निकायका नीति नियमको पूर्ण पालना गरी सरल, पारदर्शी, प्रतिस्पर्धी तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने योजनाका साथ अघि बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्