News Portal

  • राष्ट्र बैंकले बोलकबोल माध्यमबाट विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८०
    १११ पटक
    २४ असोज, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

    विकास ऋणपत्र असोज २५ गते शुक्रबार अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने असोज २६ गते निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । यस विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरीद गर्न सक्नेछन ।

    यस ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ असोज २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्