News Portal

  • सिद्धार्थ बैंकले चार हजार बढी विद्यार्थीलाई सिकायो वित्तीय साक्षरता

    आर्थीकसंसार संवाददाता२० चैत, २०७९
    ३६३ पटक
    २० चैत, २०७९

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मुख्य काम वित्तीय कारोबार हो । वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरतामा पनि बैंकहरु अग्रसर छन् । पछिल्लो समय आम सर्वसाधारण तथा आम युवाहरुमाझ वित्तीय साक्षरता सिकाएर सबैको मन जितिरहेको छ सिद्धार्थ बैंक ।
    यतिबेला सिद्धार्थ बैंक स्कूल–स्कूल र कलेज–कलेजमा पुगेर विद्यार्थीहरुलाई वित्तीय साक्षरता सिकाइरहेको छ । ‘मनी म्यानेज्मेन्ट’ कसरी गर्ने भन्ने विषयमा विद्यार्थीहरुसामू पुगेर बैंकले आम युवाहरुको मन जितिरहेको छ । पछिल्लो समय नोटको कारोबारमा कमि आउनुका साथै डिजिटल कारोबारमा सबैको आकर्षण बढेपछि वित्तीय कारोबारलाई कसरी डिजिटलमा जोड्ने भन्ने विषयमा पनि बैंकले युवाहरुलाई सिकाइरहेको छ ।
    बैंकले गत साता अर्थात् चैत ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा भएको ‘ग्लोवल मनी विक २०२३’ को अवसरमा पनि विभिन्न कलेज तथा विद्यालयहरुमा पुगेर वित्तीय साक्षरता कार्यक्रमहरु गरिरहेको छ । आम युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाउँदै आएको ग्लोबल मनी विक सिद्धार्थ बैंकले पनि देशभरमा रहेका आफ्ना शाखाहरुमार्फत् भव्यताका साथ मनाएको हो ।

    ग्लोबल मनी विक २०२३ को थिम ‘‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’’ र ग्लोबल मनि विकको स्थायी नारा ‘लर्न, सेभ, अर्न’ (सिक, बचाउ र कमाउ) लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशको सातै प्रदेशका शाखाहरुमार्फत् वित्तीय साक्षरताको कार्यक्रम गरेको हो ।
    बैंकले कोशी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बाग्मती प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मती प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ स्थानहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गरेको हो । ती कार्यक्रमहरुमा २ हजार १ सय १८ जना महिला र २ हजार ७२ जना पुरुष गरी कुल ४ हजार १ सय ९० जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।

    बैंकले आयोजना गरेको कार्यक्रमबाट धेरै वित्तीय ज्ञान हासिल गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले बैंकले आयोजना गरेको कार्यक्रमबाट ‘मनी म्यानेज्मेन्ट’मा पनि धेरै सहयोग पुग्ने पनि बताएका छन् ।
    बैंक भौतिक रुपमा कार्यक्रम आयोजना गरेर ग्लोबल मनी विक आयोजना गरेको छ भने पछिल्लो समय निकै चर्चामा रहेका सामाजिक सञ्जालहरुको पनि सदुपयोग गरेर वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सामाजिक सञ्जाल फेसबुकमार्फत् सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा ‘बैंकमा बचत गर्नुका फाइदाहरु’ को शीर्षकमा भिडियो कन्टेस्ट प्रतियोगिता आयोजना गरेको थियो । ती प्रतियोगितामा उल्लेख्नीय सहभागिता रहेको बैंकले जनाएको छ ।
    बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहँुच पु¥याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको बताएको छ । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान ‘ग्लोवल मनी विक २०२३’ को उद्देश्यहरुलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ ।

    युवामा वित्तीय ज्ञान र सीपमार्फत् व्यवहारिक रूपमा सबल र सक्षम बनाई विवेकशील वित्तीय निर्णय लिन सक्षम बनाउने उद्देश्यका साथ ग्लोबल मनी विक मनाएको बताएको छ । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइन्छ । नेपालमा पनि राष्ट्र बैंकको संयोजकत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले मनाएका छन् ।
    विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान हो । बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरुमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।

    प्रतिकृया दिनुहोस्