News Portal

  • ग्लोबल मनि विक आजदेखि सुरु, बैंक बीमा र पूँजी बजार सम्बन्धी चेतनामुलक कार्यक्रम गरिने

    आर्थीकसंसार संवाददाता६ चैत, २०७९
    १७७ पटक
    ६ चैत, २०७९

    काठमाडौं । प्लान योर मनि, प्लान्ट योर फ्युचर अर्थात् तपाईकाे पूँजीकाे याेजना बनाउनुहाेस्,भविष्यकाे बिजाराेपण गर्नुहाेस् भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२३’(विश्व पैसा सप्ताह) आजदेखि सुरु भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो ।
    उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।
    नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।
    सो अवसरमा गभर्नर अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको धारणा राखे । उनले भने, “राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।” युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको उनको भनाई थियो ।

    बैंकिङ, पुँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफुले सिकेका ज्ञान/सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न गभर्नर अधिकारीले विद्यार्थीहरूलाई आग्रह गरे ।
    कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र सँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा गभर्नरको कार्यालयका का.मु. कार्यकारी निर्देशक किरण पण्डितले स्वागत मन्तव्य राख्दै ग्लोबल मनी विकको सान्दर्भिकता र औचित्यबारे प्रकाश परेका थिए ।
    कार्यक्रमको दोस्रो सत्रमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सहकारी विभागका तर्फबाट वित्तीय चेतना प्रवर्द्धनलाई समेटिएका चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
    चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
    यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया, र्याली र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् ।
    यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
    ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा यो अभियान सञ्चालन हुँदै आएको छ । ‘Learn.Save.Earn.’ लाई ग्लोबल मनी विकको स्थायी नारा तय गरिएको छ ।

    प्रतिकृया दिनुहोस्