News Portal

  • कृषि विकास बैंकको सीईओ बने गुरुङ, को हुन् उनी ?

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७९
    ३५९ पटक
    ६ फागुन, २०७९

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।
    सीईओ छनोट समितिले आज तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । उनले सोमबार कार्यभार सम्हाल्दै छन् ।
    उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।
    उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।
    त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।
    कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि २२ जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायम मुकायम (कामु) नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रि कुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो । सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ बैंकको सीईओ बनेका हुन् ।

     

    प्रतिकृया दिनुहोस्