News Portal

  • कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ सहित ५ जना सर्टलिस्टिङमा, कसले मार्ला बाजी ?

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७९
    ३९३ पटक
    ५ फागुन, २०७९

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको बिहीबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।
    बैंकको सीईओ पदका लागि सिभिल बैंकका पूर्व सीईओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायम मुकायम (कामु) नायव महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रि कुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए ।


    उनका अनुसार योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफारिस गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका बोलाएको छ । प्रस्तुतीकरण र अन्तरवार्ताका लागि शनिवार बैंकको केन्द्रिय कार्यालयमा बोलाइएको छ ।
    बैंकका अनुसार छनौट भएका उम्मेदवारहरुमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओको लागि सिफारिस गरिनेछ ।
    कृषि विकास बैंकको सीईओ बन्नका लागि सिभिल बैंकका पूर्व सीईओसमेत रहेका गोविन्द गुरुङ अब्बल दावेदारका रुपमा उभिएका छन् । सीईओ छनोट समितिले गुरुङलाई ५ जनाको सर्ट लिष्टिङ्गमा पहिलो नम्बरमा राखेको छ । उनीसँग बैंकिङ्ग क्षेत्रमा करिव २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।
    उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।
    त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । म्यानमारको सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरेपछि उनी पुनः स्वेदशी बैंकमा प्रवेश गर्न खोजिरहेका हुन् । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।
    हाल कृषि विकास बैंकको कामु सीईओ रहेका प्रताप सुवेदी सीईओ बन्न दौडधुप गरिरहेका छन् । बैंकका पूर्व सीईओ अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि वरियता अनुसार सुवेदी कामु सीईओ बनेका हुन् । सुवेदी बैंकको भावि सीईओ बन्नका लागि दौडधुप गरिरहेका छन् । उनी बैंककाे सीईओ बन्न प्रबल दावेदार हुन् । उनी कृषि विकास बैंकको वरिष्ठ नायव महाप्रबन्धक समेत हुन् ।
    बद्रि कुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको सीईओ पदमा कार्यरत छन् । पहिलो कार्यकाल सकिएपछि उनी दोस्रो पटक सहकारी बैंकको सीईओ बनेका हुन् । उनी २०७५ पुसमा सहकारी बैंकको सीईओमा नियुक्त भएका थिए । त्यसअघि उनी नायव महाप्रवन्धक थिए । बैंकिङ्ग क्षेत्रमा २ दशक जति काम गरेका गुरागाईं चार्टर्ड एकाउण्टेट पनि हुन् । भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका गुरागाईंले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
    उनले यसअघि नेपाल बचत तथा ऋण सहकारीको प्रमुख कार्यकारी अधिकृत, अन्तर्राष्ट्रिय परिवार नियोजन संघ एसिया प्रसान्तको वरिष्ठ आर्थिक सल्लाहकार लगायतका संस्थामा काम गरेका छन् । उनी हाल सामाजिक सुरक्षा कोषको सल्लाहकार समेत हुन् । गुरागाईं सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने व्यक्तिका रुपमा समेत चिनिन्छन् ।
    कृषि विकास बैंकका कामु नायव महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले वि.सं. २०५५ सालको अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा त्रिभुवन विश्व विद्यालय टप गरेका थिए । विश्व विद्यालय टप गरेपछि उनले सोही विश्वविद्यालयमा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई अर्थशास्त्र अध्यापन गराए । डेढ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेका न्यौपाने २०५६ साल मंसिर २२ गते कृषि विकास बैंकमा अर्थशास्त्रीको रुपमा प्रवेश गरेका हुन् ।
    वित्त व्यवस्थापनमा विशेष दख्खल राख्ने उनीसँग बैंकिङ्ग क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ । उनले बैंकमा शाखा प्रमुख र विभागीय प्रमुख भएर काम गरेका छन् । हाल कामु महाप्रवन्धक पदमा कार्यरत उनीसँग बैंकको सञ्चालन, सूचना प्रविधि विभागमा समेत काम गरेको अनुभव छ । कृषि विकास बैंकलाई डिजिटलाइज गरेको श्रेय उनलाई जान्छ । उनको जन्मस्थान दाङ भएपनि हाल काठमाडौंको टोखा नगरपालिका ६ मा बस्छन् । उनले ह्युमन एण्ड नेचुरल रिसोर्स म्यानेजमेन्ट विषयमा काठमाडौं विश्व विद्यालयबाट स्नातकोत्तर समेत गरेका छन् ।
    सीईओको रेसमा रहेका विष्णु देव यादव नेपाल एसबिआई बैंकमा २६ वर्षदेखि काम गर्दै आएका छन् । उनले सोही बैंकबाट नै आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा २६ वर्षको अनुभव हासिल गरेका उनीसँग कर्पाेरेट बैंकिङ्ग, ट्रेड फाइनान्स र रिकभरीमा राम्रो अनुभव छ । पछिल्लो साढे ३ वर्ष उनले रिष्क र कम्प्लायन्सको जिम्मेवारी वहन गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र एमएस्सी गरेका छन् । उनको स्थायी घर महोत्तरी गौसाला नगरपालिका ११ मा हो भने हाल ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् ।
    यी ५ जनामध्ये एक जना सीईओ बन्नेछन् । बैंकको सीईओ बन्नेलाई ठूलो चुनौति पनि खेप्नु पर्नेछ । कृषि विकास बैंकको खराब कर्जादर ४.५२ प्रतिशत पुगेको छ । जुन बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै हो । भावि सीईओको पहिलो प्राथमिकता खराब कर्जा घटाउनु पर्नेछ । बैंकको खराब कर्जालाई शुन्यमा झार्नुपर्ने अबको सीईओको पहिलो प्राथमिकता हुनेछ । यस्तै, चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । ऋणात्मक भएको बैंकलाई नाफामा ल्याउनु पर्ने अर्काे चुनौति अब बन्ने सीईओलाई हुनेछ ।
    पछिल्लो समय बैंकको लाभांश दर पनि घट्दै गएको छ । बैंकले यसपटक हालसम्मकै न्यून लाभांश वितरण गरेको छ । जसले गर्दा सेयरधनीहरुको आकर्षणको बैंकका रुपमा उभ्याउनुपर्ने सीईओले ठूलो योगदान गर्नुपर्ने देखिन्छ ।
    सरकारी बैंक भएका कारण कर्मचारीको क्षमता अन्य बैंकको भन्दा कमजोर रहेको केही बैंकर्सहरु बताउँछन् । भावी सीईओले कर्मचारीको क्षमता अभिवृद्धि हुने किसिमले काम गर्नु पर्नेछ । साथै ग्राहकको चाहना अनुसार बैंकले नयाँ-नयाँ प्रडक्ट डिजाइन गर्नुपर्ने सीईओका चुनौति छन् । यस्तै, नियामक निकायका नीति निर्देशन परिपालना गरेर दीगो प्रतिस्पर्धी बैंकको रुपमा उभ्याउनु पर्नेछ ।

    प्रतिकृया दिनुहोस्