News Portal

  • अशोक शेरचन तेस्रो पटक प्रभु बैंकको सीईओमा नियुक्त

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७९
    ४०७ पटक
    १३ माघ, २०७९

    काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । यसअघि २ कार्यकाल सीईओ भइसकेका शेरचन प्रभु बैंकमा तेस्रो पटक नियुक्त भएका हुन् ।
    बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् ।
    २७ वर्षको बैंकिङ्ग अनुभव सँगालेका सीईओ शेरचनले सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । त्यसपछि उनी तत्कालिन नेपाल बंगलादेश बैंक प्रवेश गरे ।
    त्यसपछि उनी सन् २००६ मा प्रभु फाइनान्समा जोडिए । उनी फाइनान्सको सीईओ बने । साथै, तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए ।
    जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ बने । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका शेरचनले बैंकलाई अब्बल बनाउँदै टप फाइभ भित्र राख्न सफल भएका छन् ।
    शेरचन सन् २००७ मा तत्कालिन प्रभु फाइनान्सको सीईओमा नियुक्त भएका उनी सन् २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । विभिन्न मर्जर र एक्विजिसनहरू सीईओ शेरचनको महत्वपूर्ण भूमिका रहेको छ ।
    सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो तेस्रो कार्यकाल सुरु हुनेछ । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।

    मर्जरमा अब्बल र सफल
    सीईओ शेरचनले आफ्नो कार्यकालमा प्रभु बैंकसँग विभिन्न बैंक तथा वित्तीयको मर्जर तथा एक्विजिसन गर्न सफल भएका छन् । प्रभु बैंकसँग मर्ज भएका विभिन्न मर्जर र एक्विजिसनहरूमा सीईओ शेरचनको महत्वपूर्ण भूमिका रहेको छ ।
    प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक बनाउन उनले ठूलो भूमिका खेलेका थिए । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो । यी सबै मर्जर तथा एक्विजिसनमा उनले ठूलो भूमिका निर्वाह गरेका छन् ।
    साथै, उनले वित्तीय सूचकहरमा कमजोर रहेका बैंक तथा वित्तीय संस्थालाई गाभ्दै अब्बल बैंकका रुपमा उभ्याएका छन् । उनको कार्यकालमा पछिल्लो समय सेञ्चुरी बैंकलाई प्राप्ति गर्न सफल भएका छन् । सेञ्चुरी बैंकलाई प्राप्ति गरी गत पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

    प्रतिकृया दिनुहोस्