News Portal

  • सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७७
    १४३० पटक
    १६ असोज, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।
    सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसैले, सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन् ।
    बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक लिमिटेडलाई ऋणपत्र निष्काशन गर्न असोज १ गते बिहीबार अनुमति दिएको थियो ।
    उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
    उक्त ऋणपत्रमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्