News Portal

  • कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७९
    ४९१ पटक
    २४ मंसिर, २०७९

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । एक पदाधिकारीका अनुसार प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुंगिएको छ । प्रदेश १, मधेस, बाग्मती र लुम्बिनी प्रदेशको नाममा भने सहमति भइसकेको छैन । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुसँग परामर्श गर्दैछन् ।
    प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो ।
    संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो । सूची बनाउँदा नै क्रम मिलाएकाले यसमा धेरै विवाद थिएन ।
    पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेताहरु थिए । खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार थिए । यस्तै थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए ।
    तर बढीमा तीन जना मात्र पठाउन पाउने भएपछि नाम टुंगो लगाउन सहज थिएन ।
    प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउनुपर्ने डा. शेखर कोइराला समूहको लबिङ थियो । उनलाई लैजान बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधि रोजेका छन् ।
    महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएकी छन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । प्रसाईं, गौतम र रावल संस्थापन इतर पक्षका हुन् भने बाँकी देउवा समूहका हुन् ।
    आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। बोखिम, राजभण्डारी र थापा मगर संस्थापनइतर समूहका हुन् ।
    दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । सीता संस्थापनइतरका हुन् ।
    मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । मुक्ता संस्थापन इतरकी हुन् ।
    यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

    प्रतिकृया दिनुहोस्