News Portal

  • निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७९
    २१५ पटक
    २८ कार्तिक, २०७९

    नुवाकोट । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ ।
    जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
    उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ मतदानस्थलमा कायम गरिएका दुईसय ८८ मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी छनोट गरेर आवश्यक तालीमसमेत खटाइएको छ ।
    चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ । मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।
    उनको अनुसार मतदान केन्द्रमा मतदाता सङ्ख्या अनुसार केही स्वंयसेवक राख्नुपर्ने भएकाले त्यसको छनोट गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ ।
    नुवाकोटमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनको लागि दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेससभा गरेर छ पदको लागि प्रत्यक्षतर्फ कूल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नुवाकोटमा दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्