News Portal

  • नबिल बैंकको ‘ग्रिन पिन’ सेवा सुरु

    आर्थीकसंसार संवाददाता८ असोज, २०७७
    ७४८ पटक
    ८ असोज, २०७७

    काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’को सुरुवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न उक्त सेवाको सुरु गरेको हो । बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।
    ‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।
    ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकले ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ मेनु छनौट गरी प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन् ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

    प्रतिकृया दिनुहोस्