News Portal

  • सेयर बजारमा ७.५९ अंकले बृद्धि

    आर्थिकसंसार संवाददाता
    ६१८ पटक

    काठमाडौं । सोमबार सेयर बजार ७ दशमलव ५९ अंक बढेर बन्द भएको छ । आइतवार दिनभरि घटेर बन्द भएको बजार सोमबार बढेर बन्द भएको हो । १ हजार ३ सय ९५ विन्दुबाट सुरु भएको सूचक २१ मिनेटमा यस दिनकै न्यून १ हजार ३ सय ८४ दशमलव ९७ विन्दुभन्दा तल नपुगी बन्द भएको छ । कारोबार भएको ४५ मिनेट अवधिमा सूचक यस दिनकै उच्च १ हजार ४ सय ११ दशमलव २० विन्दुमा पुगेको थियो । तर सो विन्दुमा पाँच मिनेट पनि टिक्न नसकी सूचक घट्दै अन्त्यमा १ हजार ४ सय ३ दशमलव ८६ विन्दुमा बन्द भएको छ । गत केही दिनदेखि नाफा बुक गरेका लगानीकर्ताहरुले पुनः सेयर खरिद गर्दा बजार बढेको एक लगानीकर्ताले बताए । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको काम गर्न पूर्वाधार बनाउन निर्देशन दिइसकेको छ । अब, कोषले पूर्वाधार बनाएर छिटै डिलरको काम गर्ने सूचना आएसँगै बजार बढ्न सहयोग पुगेको उनले बताए ।
    सोमबार १ सय ९० कम्पनीको १ अर्ब २९ करोडको कारोबार भएको छ । प्रभु बैंकको संस्थापक सेयरको सबैभन्दा बढी ३४ करोड २९ लाखको सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको १० करोडको कारोबार भएको छ ।
    अजोड इन्स्योरेन्सको सेयर मूल्यले दोस्रो दिन पनि सकारात्मक सर्किट लगाएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ३ सय ५२ रुपैयाँ कायम भएको छ । आरम्भ चौतारी र नेपाल फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने घाटाको वित्तीय विवरण सार्वजनिक गरेको दिव्यश्वरी हाइड्रो पावरको सेयर मूल्य ६.८९ प्रतिशतले घटेको छ ।

    प्रतिकृया दिनुहोस्