News Portal

  • नबिल बैंकको सीईओ बने ढुङ्गाना

    आर्थीकसंसार संवाददाता९ जेठ, २०७९
    ९५८ पटक
    ९ जेठ, २०७९

    काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । दुवै बैंकको विशेष साधारणसभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पारित गरेसँगै उनी सीईओमा नियुक्त भएका हुन् ।
    गत शनिबार बसेको दुवै बैंकको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी पाएको थियो । सोही सभाले ढुङ्गानालाई सीईओ बनाउने प्रस्ताव पनि पारित गरेको हो ।
    एनबी बैंक स्रोतका अनुसार ढुङ्गाना आगामी असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् । नबिल बैंकका हालका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि उनी सीईओ बन्नेछन् । अहिले दुबै बैंकलाई एकआपसमा गाभ्न/गाभिनका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
    एनबी बैंक स्रोतका अनुसार सीईओ ढुङ्गाना भएसँगै सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । तर, अहिले नै डीसीईओको विषय भने टुङ्गिनसकेको स्रोतको भनाइ छ ।
    यस्तै, एनबी बैंकका कर्मचारीहरूको तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ ।
    यस्तो बन्नेछ बैंक
    एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।
    नबिलले एनबी बैंकलाई ४३ रुपैयाँमा गाभ्न लागेको हो । यी बैंक मर्ज भएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमई बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।
    हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।
    हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।

     

    प्रतिकृया दिनुहोस्