News Portal

  • जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२२ मा प्रेरणादायक महिलाहरु सम्मानित

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    १०४८ पटक
    २३ फागुन, २०७८

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ७ मार्च, २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।


    उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।


    पुरस्कारका विधाहरु र पुरस्कार विजेताहरु :
    प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयरः सुश्री प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङ
    अमर राना गेम चेन्जर अवार्डः क्याप्टेन प्रिया अधिकारी
    कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड : सुश्री सुस्वप्न रिमाल
    ज्योति स्कलरशिप अवार्ड: वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल र वुमन इन टेक स्कलर शिप सुश्री सुक्रिती मास्के
    इन्द्रकला स्कलरशिप अवार्ड: योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ र वुमन इन स्पेस मनिषा दावा पुरस्कृत भएका छन् ।
    जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले भन्नुभयो, “समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौंले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।”
    त्यस्तै “अनसंग हिरोज” विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु¥याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५,०००/– रुपैयाँ प्रदान गरेको छ ।
    सुश्री रेजिना बस्नेत: साझा यातायातको टिकट कलेक्टर
    सुश्री सरिता चेपाङ: रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स, जहाँँ २० वर्षमै छोरीहरुको विवाह गरिन्छ ।
    सुश्री इश्वरी थापा: विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आउनुभएकि महिला ट्याक्सी ड्राइभर
    सुश्री मनु थामी: पुरुषहरुले मात्र गर्दै आएका झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी
    परम्परागत रुपमा पुरुष प्रधान मानिएका क्षेत्रहरुमा यी महिलाहरुले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्