News Portal

  • कम्पनीहरु प्रति आक्रामक बन्दै बीमा समिति

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
    ९६५ पटक
    १७ माघ, २०७८

    काठमाडौं । पछिल्लो समय बीमा समिति बीमा कम्पनीहरु प्रति आक्रामक बन्दै छ । स्वदेशी कम्पनीमै अनिवार्य पुनर्बीमा गराउनु पर्ने निर्देशनले बीमा कम्पनीहरु असन्तुष्ट भएकाले समिति थप आक्रामक रुपमा प्रस्तुत भएको हो ।
    समितिले गत मंसिर ९ गते एक निर्देशन जारी गर्दै बीमा कम्पनीहरुलाई सम्पूर्ण पुनर्बीमा व्यवसाय नेपाली कम्पनीसँग मात्रै गर्न भनेको थियो । यससँगै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पूर्णरुपमा रोक लगाएको भन्दै सञ्चालित बीमा कम्पनीहरु समितिप्रति असन्तुष्ट बनेका थिए ।जसले गर्दा बीमा समिति कम्पनीहरुको स्थलगत निरीक्षण गर्दै कम्पनीको सुशासनमा कडाई गर्न बाध्य भएको हो । र, समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका उल्लङ्गन गर्ने कम्पनीहरुलाई धमाधम कारवाही गर्दै आएको छ ।
    पछिल्लो दुई दिनमै कम्पनीले दुई कम्पनीलाई कारवाही गरिसकेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका पालना नगरेका दुई जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सलाई नगद जरिवानासहितको कारवाही गरेको हो ।
    जसमध्ये समितिले गत माघ १४ गते नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपैयाँ बराबरको जरीवाना गरेको छ । इन्स्योरेन्सले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम दुई वटा व्यवस्था उल्लङ्घन गरेको भन्दै इन्स्योरेन्सलाई प्रतिव्यवस्था १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो ।
    एउटा, अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै इन्स्योरेन्सलाई १० हजार रुपैयाँ बराबरको नगद जरीवाना गर्ने निर्णय गरेको हो । अर्को, ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्थालाई उल्लङ्घन गरेको भन्दै १० हजार रुपैयाँ बराबरको जरीवाना गरिएको छ ।
    नेपाल लाइफले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा परेको थियो । त्यसपछि समितिले त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएकोले इन्स्योरेन्सलाई कारवाही गरिएको हो ।
    यसैगरी, उक्त सुशासन सम्बन्धी निर्देशिकामा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले १० हजार रुपैयाँ जरीवाना नगद जरिवाना लगाएको हो ।
    त्यसको लगत्तै प्राइम लाइफ इन्स्योरेन्सलाई पनि १० हजार रुपैयाँ बराबरको नगद जरिवाना गरिएको छ । समितिले माघ १६ गते एक सूचना गर्दै इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित काम गरेका भन्दै प्राइम लाइफलाई जरिवाना गर्ने निर्णय गरेको हो । समितिका अनुसार प्राइम लाइफले नक्कली बीमालेख जारी गरेको, अव्यवस्थित रुपले वैदेशिक रोजगार बीमा गरेको र तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको नाममा ठूलो रकम खर्च गरेको पाइएकोले कारवाही गरिएको हो ।
    यी दुई कम्पनीमात्रै नभई नियम उल्लंघन गर्ने अन्य कम्पनीलाई पनि कारवाही गर्ने चरणमा समिति छ । बीमा समितिले पहिलो चरणमा कम्पनीहरुका गल्ती कमजोरी औल्याई, सुधारको लागि सुझाव र निर्देशन दिएको र दोस्रो चरणमा सुधार नगर्ने माथि कारवाही थालेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।
    ‘म कुनै पनि कम्पनीलाई छोड्ने वाला छैन, गलत गर्नेहरु कारवाहीमा पर्छन्, जुनसुकै शक्ति लगाएर रोक्न खोजे पनि गलत गर्नेहरु कारवाहीमा पर्छन्’, उनले विकासन्युजसँग भने ।
    हाल समितिले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा १ बमोजिम दुई कम्पनीलाई जरिवाना गरेको हो । समिति नियम विपरित व्यवसाय गर्दै आएका कम्पनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न चाहन्छ । तर, यसको लागि ऐन बाधक बनेको छ । किनकी बीमा ऐनमा कुनै पनि कम्पनीलाई १० हजार रुपैयाँभन्दा माथिको कारवाही गर्न नपाउने व्यवस्था उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्