News Portal

  • कर सम्मान पाउने सूचीकृत कम्पनीको संख्यामा बृद्धि

    आर्थीकसंसार संवाददाता२३ पुष, २०७८
    १०३१ पटक
    २३ पुष, २०७८

    काठमाडौं । सरकारले गर्ने करदाता सम्मानमा सुचिकृत कम्पनीको उपस्थिति बढ्न लागेको छ । कर विवाद तथा बक्यौता नभएका र विभिन्न शीर्षकका कर बढी तिरेका करदातालाई २०६९ सालदेखि गरिन थालेको करदाता सम्मानमा सूचीकृत कम्पनीहरुको संख्या बढ्नुले यस्ता कम्पनीहरु कर कानुनको पालनामा सम्बेदनशील भएको पुष्टी हुन्छ ।
    सरकारले बढी आयकर तिर्ने, बढी अन्तःशुल्क तिर्ने, अविछिन्न रुपमा कर सहभागिता जनाउने, बढी मूल्य अभिबृद्धि कर (भ्याट) संकलन गरी बुझाउने करदाताहरुलाई १० वर्षदेखि करदाता सम्मान गर्दै आएको छ । मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाएर सोही दिन करदाताहरुलाई सम्मान गर्न थालिएको हो ।
    बढी आयकर तिर्न सम्बन्धित क्षेत्रमा बढी आम्दानी गरेको हुनुपर्छ । यस्तै, बढी भ्याट बुझाउनको लागि कारोबार बढी गरेर धेरै भ्याट संकलन गरी बुझाउनुपर्छ । यसरी हेर्दा बढी कर तिर्नु भनेको बढी कारोबार र बढी नाफा गर्नु पनि हो ।
    दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले अनिवार्य रुपमा प्रत्यक ३ महिनामा आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ । यस्तै, सूचीकृत कम्पनीको सञ्चालक समितिमा पनि सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक हुनुपर्छ । प्रत्येक ३ महिनामा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्नुपर्ने, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक रहनुपर्नेजस्ता व्यवस्थाले सूचीकृत कम्पनीहरुलाई तुलनात्मक रुपमा बढी पारदर्शी बनाउन सहयोग गरेको हो ।
    पारदर्शी भएका कारण सूचीकृत कम्पनीहरुले बढी प्रगति गर्ने र सरकारले सम्मान गरेका कारण सर्वसाधारणमा पनि त्यस्ता कम्पनीप्रति सकारात्मक धारणा बन्ने गरेको छ ।
    आन्तरिक राजस्व विभागका अनुसार २०६९ सालमा मनाइएको पहिलो कर दिवसमा ७ वटा संस्थागत करदातालाई सम्मान गरिएको थियो । यी ७ संस्थागत करदातामध्ये ४ वटा सूचीकृत कम्पनी हुन् । पहिलो कर दिवसमा सबैभन्दा बढी कर तिर्ने संस्थागत करदातामध्ये नेपाल दूरसञ्चार कम्पनी, नविल बैंक, कृषि विकास बैंक, युनिलिभर नेपाल सूचीकृत कम्पनी हुन् ।
    यस्तै, २०७० सालमा दोस्रो कर दिवस मनाइएको थियो । दोस्रो कर दिवसमा पनि ७ वटा नै संस्थागत करदातालाई सम्मान गरिएको थियो । सम्मानित भएका संस्थागत करदातामध्ये नेपाल दूरसंचार कम्पनी (बढी आयकर बुझाउने), कृषि विकास बैंक–सार्वजनिक संस्थानबाट बढी आयकर बुझाउने), एभरेष्ट बैंक–बैंक तथा वित्तीय क्षेत्रबाट बढी आयकर बुझाउने र युनिलिभर नेपाल (उद्योग क्षेत्रबाट बढी आयकर बुझाउने) कम्पनीहरु सूचीकृत कम्पनी हुन् ।
    सरकारले २०७१ सालमा तेस्रो कर दिवस मनाएको थियो । सो दिवसमा १६ वटा संस्थागत करदातालाई सम्मान गरिएको थियो । सम्मानित भएकामध्ये नेपाल दूरसंचार कम्पनी (सबैभन्दा बढी मुल्य अभिबृद्धि कर संकलन गरी दाखिला गर्ने मध्येवाट), नविल बैंक (बैंक तथा वित्तीय क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने), छिमेक लघुवित्त वित्तीय संस्था (लघुवित्त क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने मध्येबाट) र सोल्टी होटल (होटल व्यवसाय मध्येवाट सबैभन्दा बढी आयकर दाखिला गर्ने मध्येबाट) सूचीकृत कम्पनी हुन् ।
    यस्तै, २०७२ सालमा चौथो कर दिवस मनाइएको थियो । सो कर दिवसमा सम्मानित भएका १९ संस्थागत करदातामध्ये नेपाल दूरसंचार कम्पनी (सबैभन्दा बढी मूल्य अभिबृद्धि कर तिर्ने), नविल बैंक (वाणिज्य बैंकमध्ये सबैभन्दा बढी आयकर तिर्ने), एनआईडीसी डेभलपमेन्ट बैंक (विकास बैंकमध्ये सबैभन्दा बढी आयकर तिर्ने), नारायणी फाइनान्स (वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने), स्वाबलम्बन लघुवित्त विकास बैंक (लघुवित्त विकास बैंकमध्ये सबैभन्दा बढी आयकर तिर्ने) र लाइफ इन्स्यारेन्स कर्पोरेसन नेपाल (बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने) सूचीकृत कम्पनी हुन् ।
    सरकारले २०७३ सालमा पाँचौं कर दिवस मनाएको थियो । सो कर दिवसमा १६ संस्थागत करदातालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमध्ये युनिलिभर नेपाल (विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने), छिमेकर लघुवित्त विकास बैंक (लघुवित्त सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने), नविल बैंक (बैंक वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने), लाइफ इन्स्यारेनस कर्पोरेसन नेपाल (बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयरक तिर्ने), तारागाउँ रिजेन्सी होटल (पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीमध्ये सबैभन्दा बढी आयकर तिर्ने) र नेपाल दूरसंचार कम्पनी (२०५४।८।१ मा मुअकरमा दर्ता भएका र हालसम्म समयमै कर विवरण र कर बुझाएका करदातामध्ये सबैभन्दा बढी मुअकर तिर्ने) करदाता सूचीकृत कम्पनी हुन् ।
    यस्तै, २०७४ सालमा छौठौं कर दिवस मनाइएको थियो । सो कर दिवसमा १३ वटा संस्थागत करदातालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने करदातामध्ये हिमालयन बैंक (बैंक वित्तीय संस्था तथा लघुवित्तमध्ये सबैभन्दा बढी आयकर तिर्ने), नेपाल पुनर्बीमा कम्पनी (बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने) र गोर्खा डेभलपमेन्ट बैंक (मझौला करदाता (वार्षिक रु. ५ करोडदेखि ४० करोडसम्म कारोबार भएका मध्ये सबैभन्दा बढी आयकर तिर्ने) सूचीकृत कम्पनीहरु हुन् ।
    सरकारले २०७५ सालमा सातौं कर दिवस मनाएको थियो । सो कर दिवसमा १४ संस्थागत करदातालाई सम्मान गरिएको थियो । सम्मानित हुने करदाताहरुमध्ये छिमेक लघुवित्त वित्तीय संस्था (सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी आयकर तिर्ने), नविल बैंक (बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने), नेपाल पुनर्बीमा कम्पनी (बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने), तारागाउँ रिजेन्सी होटल (पर्यटन व्यवसायीमध्ये सबैभन्दा बढी आयकर तिर्ने) र नेपाल इन्भेष्टमेन्ट बैंक (वार्षिक रु. ४० करोडसम्म कारोबार भएकामध्ये सबैभन्दा बढी आयकर तिर्ने) करदाताहरु सूचीकृत कम्पनीहरु हुन् ।
    यस्तै, २०७६ सालमा आठौं कर दिवस मनाइएको थियो । सो कर दिवसमा ११ संस्थागत करदातालाई सम्मान गरिएको थियो । सम्मानित हुने करदाताहरुमध्ये छिमेक लघुवित्त वित्तीय संस्था (सहकारी तथा लघुवित्त मध्ये सबैभन्दा बढी आयकर तिर्ने), नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने) र तारागाउँ रिजेन्सी होटल ९ पर्यटन व्यवसायमध्ये सबैभनदा बढी आयकर तिर्ने) सूचीकृत कम्पनीहरु हुन् ।
    सरकारले २०७७ सालमा नवौं राष्ट्रिय कर दिवस मनाएको थियो । सो कर दिवसमा १४ संस्थागत करदातालाई सम्मान गरिएको थियो । सम्मानित भएका करदाताहरुमध्ये छिमेक लघुवित्त वित्तीय संस्था (सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी आयकर तिर्ने), नविल बैंक, बैंक वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्था), नेपाल पुनर्बीमा कम्पनी (बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने), तारागाउँ रिजेन्सी होटल (पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने) र कामना सेवा विकास बैंक (मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने) सूचीकृत कम्पनीहरु हुन् ।
    सरकारले गत मंसिर १ गते पनि राष्ट्रिय कर दिवस मनाएको थियो । सो दशौं राष्ट्रिय कर दिवसमा १४ संस्थागत करदातालाई सम्मान गरिएको थियो । सम्मानित हुने करदाताहरुमध्ये नेपाल दूरसंचार कम्पनी (सबैभन्दा बढी आयकर दाखिला गर्ने), छिमेक लघुवित्त वित्तीय संस्था (सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थाहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने), नविल बैंक (बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने), नेपाल पुनर्बीमा कम्पनी (बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने) र तारागाउँ रिजेन्सी होटल (पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने) सूचीकृत कम्पनीहरु हुन् ।

    प्रतिकृया दिनुहोस्