News Portal

  • कुमारी बैंकलाई ह्याकरको धम्कीपछि बैंक तथा वित्तीय संस्था ‘तरंगित’, सिस्टम खुला गरिँदै

    आर्थीकसंसार संवाददाता१५ पुष, २०७८
    ८८१ पटक
    १५ पुष, २०७८

    काठमाडौं । कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि पुनः कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की आएको हो ।
    कुमारी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बिहानै साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बताए ।
    ‘बिहीबार बिहान यस्तो धम्कीपूर्ण इमेल आएको थियो, त्यो इमेल लगत्तै हामीले सबै सिस्टम बन्द गरेर हेर्यौं, तर, कुनै पनि समस्या छैन,’ तिमिल्सिनाले भने ।
    उनका अनुसार अब केही समयपछि सिष्टम सञ्चालनमा ल्याउने तयारी छ । धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।
    नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि यो विषय बारे सबै बैंकहरुलाई जानकारी गराएको र सतर्क रहन आग्रह गरिएको बताए ।
    गत साउनमा नेपालका बैंकहरु ह्याक हुँदै गरेको भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । सो घटनापछि नेपाली बैंक तथा वित्तीय संस्थाहरु धेरै सजक बनेका थिए भने राष्ट्र बैंकले पनि सतर्कता अपनाउन निर्देशन दिएको थियो । सो इमेलमा नेपालका १५ वटा बैंकका शाखा कार्यालय र सेवा ४८ घण्टाका लागि बन्द गर्न भनिएको थियो ।

    प्रतिकृया दिनुहोस्