
काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको छ । बैंक र विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई बिना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।
आज मंसिर ८ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा उक्त सम्झौता सम्पन्न भएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्तोला र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुखकुमार प्रसाद हुमागाईं र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय बीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैकले त्रिभुवन विश्वविद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रशंसा गर्दै नेपाल बैकलाई धन्यवाद दिएका छन् ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले देशका दुईवटा जेठा संस्थाहरुबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल, रजिष्टार प्रा.डा. पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलका साथै बैंकको कीर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञानराज गौतमलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।