News Portal

  • हिमालयन रि इन्स्योरेन्सले ३ अर्बको साधारण शेयर जारी गर्ने

    आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०७८
    ७६३ पटक
    २७ कार्तिक, २०७८

    काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आउँदो वर्ष ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।
    कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले थप ३ अर्ब रुपैयाँ पुँजी जुटाउनका लागि सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको हो ।
    गत असार ३१ गतेबाट कारोबार सुरु गरेको हिमालयन रिको संस्थापकहरुले ७ अर्ब रुपैयाँ पुँजी लगानी गरिसकेका छन् । अधिकृत पुँजी २१ अर्ब रुपैयाँ कायम गर्दै तत्काललाई चुक्ता पुँजी १० अर्ब कायम गर्ने निर्णयसँगै साधारण शेयर जारी गर्ने निर्णय प्रस्तावसमेत पारित गरेको हो ।
    प्रथम वार्षिक प्रतिवेदनका अनुसार कम्पनीले सञ्चालनको छोटो अवधिमा झण्डै १ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । प्रथम साधारण सभाबाट पारित आ.व. २०७७÷७८ को वार्षिक प्रतिवेदनअनुसार हिमालयन रिले ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ । २०७८ असार ३१ बाट मात्र औपचारिक रुपमा पुनर्बीमा सेवा सुरु गरेको कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य शीर्षकबाट कूल २ करोड ३७ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ ।


    असार ३१ गते कारोबार सुरु गरेको पहिलो दिनमै दुईवटा जोखिमको पुनर्बीमा गरेको कम्पनीले बीमाशुल्क वापत १ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा कम्पनीको व्यवस्थापन तथा अन्य खर्च शीर्षकमा १६ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।
    २१ अर्ब अधिकृत, १० अर्ब जारी र ७ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको बीमाकोषमा गत असार मसान्तसम्ममा ४८ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०७९÷८० मै ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेर चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुर्याउने अध्यक्ष शेखर गोल्छाले घोषणा गरेका छन् ।
    कम्पनीले वार्षिक प्रतिवेदन तयार पार्दाको मितिसम्ममा पुनर्बीमा शुल्कवापत १२ करोड रुपैयाँ आर्जन गरेको छ ।
    कोभिड–१९ संक्रमणको कारण विदेशी पुनर्बीमकहरुसमेत प्रभावित भएको अवस्थामा आगामी दिनमा यात्रा स्वास्थ्य बीमा, हवाई बीमा र ट्रेकिङ बीमालगायतका अन्य बीमाको पुनर्बीमा सुरक्षण सुलभ नहुन सक्ने तथा पुनर्बीमा लागत समेत बढ्न सक्ने जोखिम रहेको अध्यक्ष गोल्छाले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका पुनर्बीमा कम्पनी र पुनर्बीमा दलालहरुसँग सहकार्यका लागि १५ विभिन्न राष्ट्रहरुबाट पुनर्बीमा प्रस्तावहरुसमेत प्राप्त भइसकेको अध्यक्ष गोल्छाले जानकार दिएका छन् । उनले निकट भविष्यमा नै एशियाको मात्र नभई विश्वकै प्रमुख छनौटको पुनर्बीमा बन्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्