
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । प्रतिनिधि सभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटिएम सेवाको शनिबार विधिवत रुपमा समुदघाट्न गर्नुभएको हो ।
उक्त अवसरमा प्रतिनिधिसभाका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अबको युग डिजिटल प्रविधिको प्रयोगतर्फ गईरहेकाले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।
सो कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ्ग, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेद निधि खनाल, प्रतिनिधिसभाका सभामुखका स्वकिय सचिव सागर के.सी., बैंकका विभागीय प्रमुख सरोज बस्नेत, उपप्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक रत्ना शाक्य, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरुलगायत अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ ।