News Portal

  • नबिल बैंकमा मनोज ज्ञवालीको महाप्रबन्धकमा बढुवा

    आर्थीकसंसार संवाददाता१ कार्तिक, २०७८
    ८५१ पटक
    १ कार्तिक, २०७८

    काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गरेको हो ।
    ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटो अवधिमा उच्च तहमा प्रमोशन खाने ज्ञवाली पहिलो व्यक्ति भएको स्रोतले बतायो । उनी २०७६ भदौंमा नविल बैंकमा नायब महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसअघि उनले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए ।
    ज्ञवालीसँगै नविलमा तीनजना महाप्रबन्धक भएका छन् । यसअघि सुजित शाक्य र बिनय रेग्मी पनि महाप्रबन्धक पदमा कार्यरत छन् । नविलमा प्रमुख कार्यकारी अधिकृतपछिको पद महाप्रवन्धक हो ।
    रेग्मी सोही बैंकका पुराना कर्मचारी हुन् भने ज्ञवाली र शाक्य एक वर्षअघि मात्र सो बैंकको उच्च व्यवस्थापनमा नियुक्त भएका हुन् । शाक्य यसअघि जनता बैंकमा डेपुटी सीइओ थिए ।
    आगामी असार मसान्तमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सकिँदैछ । त्यसपछि तीनजना डेपुटीमध्येबाट एक जनालाई सीईओ बनाउने सम्भावना छ ।
    नविल बैंकमा पुराना कर्मचारीहरु व्यवस्थापन निकै चुनौतिपूर्ण बनेको छ । नरम स्वभावका अनिल केशरी शाहबाट पुराना कर्मचारी परिचालन कम प्रभावकारी भएपछि कडा स्वभावको प्रमुख कार्यकारी अधिकृत भित्र्याउने सोचमा बैंक सञ्चालक समिति रहेको बुझिएको छ ।
    नविल बैंकमा नेपाल बंगलादेश बैंक मर्जको सम्भावना पनि छ । उक्त मर्ज भएमा ज्ञानेन्द्रप्रसाद ढुंगाना नबिलको सीईओ बन्ने अनुमान पनि धेरैले गरेका छन् । नेपाल बंगलादेश बैंकबाट ढुंगानाले पुसबाट अवकाश पाउँदैछन् ।

    प्रतिकृया दिनुहोस्