News Portal

  • बीमा समितिले कम्पनीको शाखा कार्यालयको आउटलुकसम्बन्धी मापदण्ड बनाउने

    आर्थीकसंसार संवाददाता२३ साउन, २०७८
    ५३४ पटक
    २३ साउन, २०७८

    काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको शाखा कार्यालय खोल्दा आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि छुट्टै मापदण्ड बनाउने भएको छ । कम्पनीहरुले न्युनतम पूर्वाधार बिना नै शाखा कार्यालय खोल्न थालेपछि बीमा समितिले यसका लागि छुटै मापदण्ड बनाउन लागेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
    उनले भने ‘बीमा कम्पनीहरुले विश्वास बेच्ने हो । एउटा कागज देखाएर बीमितहरुसँग कम्पनीहरुले करोडौ रुपैयाँ लिएका हुन्छन् । मानिसहरुको विश्वास जित्नका लागि पनि कार्यालयहरु राम्रो हुनु पर्छ ।’ बीमाको पहुँच बढाउन कम्पनीहरुले मागे जति शाखा कार्यालय खोल्न अनुमति दिने गरेको तर कार्यालयको लागि आवश्यक पर्ने न्युनतम पूर्वाधार नहुने गरेको उनले बताए ।
    यदि यस्तै अवस्थामा रहिरहने हो भने बीमा कम्पनीलाई मानिसहरुले पत्याउदैनन् । मानिसको विश्वास जित्न पनि कार्यालयको बाहिरी आवरण पनि राम्रो हुनुपर्छ ।
    बीमा समितिले पनि छिट्टै शाखा कार्यालयका लागि आवश्यक पूर्वाधारको मापदण्ड बनाउँछौं । बीमाको पहुँच बढाउन शाखा विस्तार गर्न दियो तर न्युनतम पूर्वाधार पनि नजुटाइ कार्यालय खोल्ने गरेको पाइएको छ । उनले थपे ‘अधिकांश बैंक र बीमा कम्पनीको शाखा नजिक नजिकै हुन्छन् । बैंकहरुको शाखा कार्यालय हे््यो भने एकदमै आकर्षक देखिन्छ तर हाम्रा बीमा कम्पनीको शाखा कार्यालय हेर्यो भने केही न कामको झुस्स परेका हुन्छन् ।’
    नेपाल धितोपत्र बोर्डले सामान्य एउटा ब्रोकर कार्यालय स्थापनाका लागि पनि आवश्यक भौतिक पूर्वाधारको लागि मापदण्ड तोकिदिएको छ तर समितिले यसका लागि कुनै पनि मापदण्ड नबनाउँदा यस्तो अवस्था आएको हो ।
    बीमा समितिको निरीक्षण टोलीले उपत्यका भन्दा बाहिरका शाखा कार्यालयमा निरीक्षण गर्दा कम्प्युटरका लागि आवश्यक पर्ने व्याकअप समेत नभएको भेट्टाएको थियो । यस्तो अवस्थामा यही विजुली गयो भने दुई तीन दिनसम्म पनि पोलिसी काट्न नसक्ने अवस्था रहेको पाइएको छ ।
    उपत्यका भित्रकै कतिपय शाखा कार्यालयमा घाम पनि छिर्दैन । भाडा धेरै तिर्नुपर्ने भन्दै बीमा कम्पनीहरुले भित्रि भागका घरहरुलाई रोज्ने गरेका छन् । अभिकर्ताका लागि करौडौ रुपैयाँ खर्चिने बीमा कम्पनीहरुले शाखा कार्यालयको सामान्य पूर्वाधारमा पनि ध्यान दिन सकेका छैनन् । खर्चमा मितव्ययी बन्ने बहानामा शाखा कार्यालयमै खर्च कटौती गर्नु कति जायज ? अभिकर्ताले कार्यालयमा आएर पानि समेत खान नपाउने सजिलै बस्न पनि नपाउने अवस्थालाई पनि व्यवस्थापन गर्नु पर्ने हुन्छ । भव्य शहरका विचमा खोलेका शाखा कार्यालयले समेत प्लाष्टिकका कुर्सी राखेका हुन्छन् । तर नजिकैको बैंकको शाखा कार्यालयमा गयो भने छुट्टै वातावरण हुन्छ । त्यसैले पनि समितिले समयसापेक्ष शाखा कार्यालयको आउटलुकका मापदण्ड बनाउनु पर्ने अवस्था सिर्जना भएको हो ।

    प्रतिकृया दिनुहोस्