१३ असोज, २०८३काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् । कांग्रेसको १५औं महाधिवेशनको तयारी भइरहेका बेला मनाङे इतर समूहमा जोडिएका हुन् ।
मंगलबार (आज) १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले गुरुङलाई पार्टीमा स्वागत गरेका हुन् ।
मनाङे गण्डकी प्रदेशको राजनीतिमा स्वतन्त्र सांसदका रूपमा स्थापित नेता हुन् । उनी २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा मनाङको प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो भने २०७९ मा उनी निर्विरोध निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनपछि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गठन हुँदा मनाङे युवा तथा खेलकुदमन्त्री बने । त्यसपछि सत्ता समीकरण परिवर्तन भएसँगै कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि उनी मन्त्री बने ।
२०७९ को निर्वाचनपछि भने मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । तर, त्यसमा उनी लामो समय टिकेनन् । २०८० चैतमा उनले नेकपा एस परित्याग गरी आफू स्वतन्त्र रहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका थिए ।
त्यसपछि उनी कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी भए । पाण्डे नेतृत्वको सरकारमा मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बने ।
गण्डकीमा सरकार गठन र सत्ता समीकरणका क्रममा उनको समर्थन पटक–पटक महत्त्वपूर्ण देखिँदै आएको थियो ।
मनाङेको राजनीतिक यात्रा भने राप्रपाबाट सुरु भएर एमाले, स्वतन्त्र उम्मेदवारी, एकीकृत समाजवादी हुँदै अहिले कांग्रेससम्म आइपुगेको छ ।
२०७३ मा राप्रपा प्रवेश गरेका उनी पछि एमालेमा आबद्ध भएका थिए । एमालेबाट प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका उनले एमालेको समर्थनमा निर्वाचन जितेका थिए ।
२०७९ मा पनि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश र पुनः स्वतन्त्र हैसियतमा फर्किने क्रमसँगै गण्डकीको सत्ता समीकरणमा भने उनको भूमिका निरन्तर देखिँदै आएको थियो ।
पछिल्लो समय कांग्रेसको १५औं महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीभित्र विभिन्न समूहले संगठन विस्तार र राजनीतिक समीकरण निर्माणलाई तीव्रता दिएका छन् । यही क्रममा मनाङे देउवा समूहमा प्रवेश गरेका हुन् ।




