News Portal

  • एजेन्सी मेनेजरलाई अन्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ

    आर्थीकसंसार संवाददाता२८ फागुन, २०८२
    १९ पटक
    २८ फागुन, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेस गर्नका लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ। एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेस गर्न सहज बनाउने उद्देश्यले यस प्रकारको पहुँच दिइएको कम्पनीे जनाएको हो।

    एजेन्सी मेनेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफुले गरेको बीमा प्रस्ताव स्वीकृतीको लागि कम्पनीमा पेस गर्न सकिने व्यवस्था मिलाएको छ। एजेन्सी मेनेजरले बीमा प्रस्तावका लागि तोकिएका कागजात तथा विवरणहरु एजेन्सी पोर्टलमा पेस गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रक्रिया पूरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने प्रबन्ध गरिएको कम्पनीको भनाइ छ।

    एजेन्सी मेनेजरलाई दिइएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ। कम्पनीले एजेन्सी मेनेजरलाई दिएको सुविधाको कारण बीमा प्रस्ताव स्वीकृति छिटो, छरितो र सहज रुपमा हुने भएको छ। कम्पनीले एजेन्सी मेनेजरहरुलाई अन्डरराइटारको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित सर्तहरु पूरा गरेपछि एजेन्सी मेनेजरहरुलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले जानकारी गराए।

    कम्पनीले एजेन्सी मेनेजरलाई पहुँच दिइएको एजेन्सी पोर्टलबाट व्यवसायसम्बन्धी रिपोर्टलगायतका विवरणहरु जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गरी कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउँदै लैजान प्रयास भइरहेको कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्