काठमाडौं । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३१ ग्ते बिहान ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले राष्ट्रिय बीमा कम्पनी (साविको राष्ट्रिय बीमा संस्थान)को आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ ।
साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्नेछ ।
कम्पनीको सभाले सञ्चालकहरुको आर्थिक वर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन गरी सोलाई निरन्तरता गर्ने र सर्वसाधारण सेयरधनीहरुमध्येबाट एक जना सञ्चालक चयनको लागि निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि जेठ १६ गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १५ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउने छन् ।