काठमाडौं । बैंक तथा वित्तीय संथाका सञ्चालक कायम रहेका ब्यक्ति एकैपटक रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने भएका छन् । कुनै बैंक तथा वित्तीय संस्थामा बहाल सञ्चालक रहेको ब्यक्ति एकै पटक रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न नपाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै अन्य इजाजतपत्रप्राप्त/अनुमतिप्राप्त संस्थामा संलग्न हुन नपाइने व्यवस्था गरेको हो ।
‘राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक वा पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक÷पदाधिकारी पदमा बहाल रहन पाउने छैन,’ राष्ट्र बैंकले भनेको छ ।
साथै, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीको सञ्चालक तथा पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक तथा पदाधिकारी पदमा बहाल रहन नपाउने व्यवस्था गरेको हो । तर, नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा उक्त व्यवस्थाले बाधा नपुर्याउने बताइएको छ । उक्त व्यवस्था २०८० असोज मसान्तभित्र नियमित गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।