News Portal

  • रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन प्राधिकरणको निर्देशन

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७९
    २११ पटक
    १६ माघ, २०७९

    काठमाडौं । रसुवामा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे छ । रसुवा जिल्लाको कालिका गाउँपालिकामा आइतबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बीमाको दाबी भुक्तानी सहज बनाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएकाे हाे ।
    नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, बीमकका प्रतिनिधि, कृषक लगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बीमा अभिकर्ताले सत्य जानकारी नदिने, झुठ्ठा विवरण उपलब्ध गराउने र आफ्नो स्वार्थमा मात्र केन्द्रित भएर काम गर्ने गरेको गुनासो गरे ।
    गाउँपालिकाका पशुस्वास्थ्य प्राविधिक बुद्धिनाथ न्यौपानेले गाउँपालिकाले कृषि बीमाशुल्कमा १० प्रतिशत अनुदान दिने गरेको जानकारी दिए ।
    साथै, उनले बीमा दाबी भुक्तानी झन्झटिलो रहेको, बीमा कम्पनीले कुखुराको बीमा नगरेको, बाख्राको बीमा गर्दा दुर्घटना वापत लिने गरेको रकम बढी भएको र बीमाशुल्क भन्दा बढी रकम लिने गरेको जस्ता गुसानाहरु आउने गरेको जानकारी दिए ।
    कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा दाबी भुक्तानी सरल बनाउन र स्वच्छ एवम् पारदर्शीरुपमा बीमा व्यवसायलाई अघि बढाउन बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको बताए ।
    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्