News Portal

  • इन्भेष्टमेन्ट र मेगा बैंकबीच १० दिनभित्र मर्जर सम्झौता गर्ने गृहकार्य

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०७९
    ५६५ पटक
    २४ जेठ, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने विषय अन्तिम चरणमा पुगेको छ । दुई बैंकबीच केही दिनभित्रै मर्जरको सम्झौता हुने तयारी भइरहेको बुझिएको हो ।
    हिमालयन बैंकसँग मर्जर भाँडिएपछि मेगा बैंकलाई मर्जरको पार्टनर खोजेको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पनि जतिसक्दो छिटो मर्जरको सम्झौता गर्ने तयारीका साथ काम गरिरहेका छन् ।
    दुवै बैंकले अहिले मर्जर समिति नै बनाएर काम गरिरहेका छन् । दुवै बैंकले अहिले मर्जरका लागि व्यापक रूपमा काम गरिरहेका छन् ।
    मेगा बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक गोपाल खनालले दुई बैंकबीच मर्जरको सम्झौता १० दिनभित्रै गर्ने तयारी भइरहेको बताए । उनका अनुसार दुबै बैंक एकआपसमा मर्जरका लागि सकारात्मकक भएकोले जति सक्दो छिटो नै मर्जरको प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल भइरहेको छ ।
    ‘दुवै बैंक मर्जरका लागि सकारात्मक छौं, सकिन्छ भने १० दिनभित्रै मर्जर सम्झौता गर्ने किसिमले काम भइरहेको छ,’ खनालले विकासन्युजसँग भने । उनका अनुसार आफुहरुले शतप्रतिशत स्वाप रेसियो माग गरेपनि नेपाल इन्भेष्टमेन्ट बैंक भने त्यति दिन तयार छैन । उनले मेगा बैंकले ९० बढीको स्वाप रेसियो माग गरेको छ ।
    हामीले स्वाप रेसियो मात्रै माग गरेका छौं, अन्य विषयमा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नै छोडेका छौं, अहिले मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत पनि हुनुहुन्छ, त्यसैले सीईओ पनि उहाँहरूकोबाटै हुृन्छ, अध्यक्ष पनि त्यतैको हुन्छ, हामीलाई स्वाप रेसियो मात्रै भनेजति दिनुस् भनेका छौं, उहाँहरु पनि मर्जरका लागि सकारात्मक नै हुनुहुन्छ,’ उनले भने ।
    हाल नेपालइन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे छन् भने सीईओ ज्योतिप्रकाश पाण्डे छन् । दुई बैंकको मर्जरपछि पाँडे र पाण्डे नै अध्यक्ष र सीईओ बन्ने लगभग पक्का भएको छ ।
    खनालले आफुले यसअघि तीन वटा बैंक मर्जर गरेर आएको अनुभव भएकोले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच पनि मर्जर गर्नको लागि प्रभावकारी भूमिका खेल्ने बताए ।
    यस्तै, इन्भेष्टमेन्ट बैंक स्रोतका अनुसार दुई बैंकको स्वाप रेसियो १००ः९० हुने छलफल भइरहेकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकका केही सञ्चालकहरूले भने १००ः८५ स्वाप रेसियो हुनु पर्ने धारणा राखिरहेको पनि बुझिएको छ ।
    अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने बैंकको पूँजी स्वाप रेसियोले नै निर्धारण गर्नेछ । तर, मर्जरपछिको बैंक भने वाणिज्य बैंकहरूमध्येकैेपुँजीमा ठूलो बैंक बन्नेछ ।
    मर्जरपछि बन्ने बैंकको नाम भने अहिले नै यकिन भइसकेको छैन । तर, स्वाप रेसियोमा कुरा मिलेमा नाम पनि नेपाल इन्भेष्टमेन्ट बैंकले चाहेको नै हुने बुझिएको छ ।
    मर्जरपछि बन्ने बैंकको कुल निक्षेप ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ । हाल नेपाल इन्भेस्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ । त्यस्तै इन्भेस्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ ।

     

    प्रतिकृया दिनुहोस्