News Portal

  • ६ महिना २१ दिनको आयात पुग्ने डलर सञ्चिति

    मूल्यवृद्धि ७ प्रतिशत नाघ्यो

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०७८
    ९६४ पटक
    २९ चैत्र, २०७८

    काठमाडौं । विदेशी मुद्रा सञ्चिति खासै कम नभएको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले नेपालमा अझै ६ महिना २१ दिनको लागि आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ ।
    नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्ममा ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति छ । यो सञ्चितिले ६.७ महिना (६ महिना २१ दिन) को वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाई छ ।
    यद्यपि, विदेशी विनिमय संचिति भने निकै घटेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई फागुन मसान्तमा रु.११७१ अर्ब कायम भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।
    यो अवधिमा रेमिटान्स आय भने घट्न थालेको छ । रेमिटान्स आय १.७ प्रतिशतले कमी आई ६३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
    चालु खाता ४६२ अर्ब घाटामा
    राष्ट्र बैंकका अनुसार चालु खाता ४६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५१ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई रु.७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६०.० प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १८ करोड रहेको थियो ।
    शोधनान्तर स्थिति २५८ अर्बले घाटामा
    राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।
    मूल्य बृद्धि ७ प्रतिशत माथि
    फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । यो भनेको मूल्य बृद्धि हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ ।
    २०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ । साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्