
काठमाडौं । बीमा समितिले एकैपटक ११ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने जीवन र निर्जीवन बीमा कम्पनी गरी कूल ११ वटालाई नगद जरिवानासहित कारवाही गरेको हो ।
कारवाही पर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमा निर्जीवन बीमातर्फका तीन कम्पनी (दि ओरियन्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी) रहेका छन् भने जीवन बीमातर्फका ८ वटा कम्पनी (राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ, गुराँस लाइफ, आईएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी) रहेका छन् ।
यी ११ वटा कम्पनीलाई प्रतिकम्पनी १० हजार रुपैयाँको दरले एक लाख १० हजार रुपैयाँ बराबरको नगद जरीवाना गरेको हो । समितिका अनुसार बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने यी कम्पनीलाई कारवाही गरिएको हो ।
बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ । जुन यी कम्पनीले जानी-जानी उल्लङ्घन गरेकाले पाइएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम सो रकम बराबरको जरिवाना गरिएको समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले जनाएका छन् ।